First Woman President of Nepal ; Former Minister for Defense ; Minister for Population & Environment ; Former VP of CPN (UML) ;Founder,Madan Bhandari Foundation
विश्व वातावरण दिवस, २०२६ को हार्दिक शुभकामना !
हाम्रो देश नेपाल प्रकृतिको अनुपम उपहारले सम्पन्न देश हो । हिमाल, पहाड, तराई, नदी, वनजङ्गल र जैविक विविधताले हाम्रो राष्ट्रिय पहिचान निर्माणमा महत्वपूर्ण योगदान गरेका छन् । हाम्रो सभ्यता, संस्कृति, जीवनशैली र अर्थतन्त्र पनि प्रकृतिसँग गहिरो रूपमा जोडिएका छन् । त्यसैले वातावरणको संरक्षण केवल प्राकृतिक सम्पदाको रक्षा मात्र होइन, हाम्रो अस्तित्व, समृद्धि र भावी पुस्ताको भविष्य सुरक्षित गर्ने अभियान पनि हो ।
आज विश्वले जलवायु परिवर्तनको गम्भीर चुनौतीहरू सामना गरिरहेको छ । यसको असर नेपालमा झन् तीव्र रूपमा देखापर्न थालेको छ । विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान अत्यन्त न्यून भएता पनि जलवायु परिवर्तनको मूल्य हामीले असमान रूपमा चुकाइरहेका छौँ । जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा तीव्र रूपमा भइरहेको तापमान वृद्धिले हिमनदीहरू तीव्र गतिमा पग्लिरहेका छन्, हिमताल विस्फोटको जोखिम बढिरहेको छ, बाढी, पहिरो, डुबान, खडेरी र अनियमित वर्षाजस्ता विपद्का घटनाहरू बढ्दै गएका छन् । यसको प्रत्यक्ष प्रभाव किसान, श्रमिक, महिला, बालबालिका तथा दुर्गम क्षेत्रका समुदायको जीवनमा परिरहेको छ ।
हाम्रा पुर्खाले प्रकृतिलाई केवल उपयोगको वस्तु होइन, जीवनको आधार र सम्मानको विषयका रूपमा हेर्ने संस्कार विकास गरेका थिए । आज त्यही चेतना र जिम्मेवारीलाई आधुनिक विज्ञान तथा प्रविधिसँग जोडेर वातावरण संरक्षणको अभियानलाई थप सशक्त बनाउन आवश्यक छ ।
विश्व वातावरण दिवसको यस अवसरमा, वातावरणमैत्री दिगो विकास, प्राकृतिक स्रोत–साधनको विवेकपूर्ण उपयोग तथा जैविक विविधता र पारिस्थितिकीय प्रणालीको संरक्षणमार्फत दिगो भविष्य निर्माण गर्न हामी सबै सचेत र जिम्मेवार बन्न आवश्यक छ । प्रकृतिप्रतिको हाम्रो उत्तरदायित्व नै भावी पुस्ताप्रतिको हाम्रो दायित्व हो ।
आठौँ राष्ट्रिय महिला अधिकार दिवसको हार्दिक शुभकामना !
पुनर्स्थापित प्रतिनिधिसभाद्वारा वि.सं. २०६३ साल जेठ १६ गते पारित महिला अधिकारसम्बन्धी ‘विशेष संकल्प प्रस्ताव’ नेपाली महिला आन्दोलनको इतिहासमा अभूतपूर्व उपलब्धिका रूपमा रहेको छ । उक्त प्रस्तावकै आधारमा नेपालको अन्तरिम संविधान, २०६३ तथा नेपालको संविधान २०७२ मा महिला अधिकारलाई मौलिक हकका रूपमा समावेश गरिनुका साथै राज्यका विभिन्न निकायमा कम्तीमा एकतिहाइ महिला प्रतिनिधित्व सुनिश्चित गरिएको छ । यसका साथै सम्पत्तिको अधिकार, सुरक्षित मातृत्व, प्रजनन स्वास्थ्य लगायतका महत्त्वपूर्ण अधिकारहरू पनि सुनिश्चित गरिएका छन् । यसैको परिणामस्वरूप राज्यका विभिन्न निकायहरूमा महिलाहरूको सहभागिता तथा नेतृत्वदायी भूमिका उल्लेखनीय रूपमा वृद्धि भएको छ ।
यद्यपि संवैधानिक तथा कानुनी उपलब्धिहरू हासिल भए तापनि समाजमा विद्यमान लैङ्गिक विभेद, महिला हिंसा, छाउपडी, दाइजोप्रथा लगायतका कुप्रथाहरू पूर्ण रूपमा अन्त्य हुन अझै बाँकी छ । त्यसैले प्राप्त उपलब्धिहरूको रक्षा गर्दै पूर्ण समानुपातिक प्रतिनिधित्व, समान अवसरको सुनिश्चितता तथा महिलाको आर्थिक, सामाजिक र राजनीतिक सशक्तीकरणका लागि अझ सशक्त ढङ्गले अगाडि बढ्न आवश्यक छ । विशेषतः नयाँ पुस्ताले लैङ्गिक समानता, सामाजिक न्याय र महिला अधिकारको पक्षमा सचेत, जिम्मेवार र सक्रिय भूमिका निर्वाह गर्नुपर्ने आजको प्रमुख आवश्यकता हो ।
महिला अधिकारसम्बन्धी ‘विशेष संकल्प प्रस्ताव’ पारित भएको ऐतिहासिक दिनको सम्झनास्वरुप मनाउँदै आइएको आठौँ राष्ट्रिय महिला अधिकार दिवसले प्रगतिशील, समतामूलक, सभ्य र न्यायपूर्ण समाज निर्माणप्रतिको हाम्रो साझा प्रतिबद्धतालाई अझ सुदृढ बनाउन प्रेरणा प्रदान गरोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु ।
१९औँ गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई ज्ञापन गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
नेपालको राजनीतिक इतिहासमा जेठ १५ गते एक गौरवशाली र अविस्मरणीय दिन हो । यस गौरवमय दिनको पृष्ठभूमिमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात-अज्ञात अमर सहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, नागरिक स्वतन्त्रता र लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनहरूमा नेतृत्व प्रदान गर्नुहुने आदरणीय अग्रजहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु |
गणतन्त्रको स्थापना केवल व्यवस्था परिवर्तन मात्र होइन, यो त नेपाली जनताको जीवनस्तरमा सकारात्मक रूपान्तरण ल्याउने र राज्यका हरेक तहमा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने एउटा माध्यम हो । गणतन्त्रको वास्तविक सुन्दरता र सार्थकता तब मात्र झल्किन्छ, जब समाजको किनारामा रहेका विपन्न, उत्पीडित र सीमान्तकृत नागरिकले पनि “राज्य मेरो सहारा हो” र “म यो देशको सम्मानित नागरिक हुँ” भन्ने अनुभूति गर्न पाउँछन् ।
गणतन्त्र दिवसको यस सुखद् अवसरमा म राज्यका सम्पूर्ण निकाय, राजनीतिक दल र आम नागरिकलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रका मूल्य र मान्यताहरूलाई अझ बढी परिपक्व र परिणाममुखी बनाउन दृढ सङ्कल्पित हुन आह्वान गर्दछु । हाम्रो राष्ट्रिय लक्ष्य अब सुशासन, आर्थिक समृद्धि र सामाजिक न्याय हुनुपर्दछ । मुलुकको स्वाधीनता, राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई अक्षुण्ण राख्दै आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा हामी सबै जुट्नु आजको आवश्यकता हो ।
अन्तमा, यस १९औँ गणतन्त्र दिवसले हामी सबैमा राष्ट्रिय हितलाई सर्वोपरि ठानी आपसी सद्भाव, सहकार्य र एकताका साथ अगाडि बढ्ने नयाँ ऊर्जा र प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।
आज जेठ ३ गते, नेपाली कम्युनिष्ट आन्दोलनका नवीन विचारक, मुलुकको सामाजिक–आर्थिक रूपान्तरणको सिद्धान्त ‘जनताको बहुदलीय जनवाद (जबज)’ का प्रणेता तथा प्रखर राष्ट्रवादी जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितको ३३औँ स्मृति दिवसका अवसरमा उहाँहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।
मदन–आश्रितले कम्युनिष्ट आन्दोलनप्रति जनताको अपार माया, विश्वास र समर्थन जुटाउँदै आन्दोलनलाई सफलताको सिँढी चढाउन अभूतपूर्व योगदान गर्नुभएको थियो । जननेता मदन भण्डारीद्वारा प्रवर्तित ‘जनताको बहुदलीय जनवाद (जबज)’ले लोकतान्त्रिक माध्यममार्फत मुलुकमा सामाजिक न्याय, समृद्धि र रूपान्तरणको मार्गदर्शन गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले)लाई जनताको भरोसायोग्य राजनीतिक शक्तिका रूपमा स्थापित गर्न ऐतिहासिक भूमिका निर्वाह गरेको छ ।
विगतका उपलब्धिहरूसँगै वर्तमानका अवसर र चुनौतीलाई ध्यानमा राख्दै हामी अझ जिम्मेवार र संवेदनशील बन्न आवश्यक छ । अहिले देखिएका चुनौतीहरूको सामना गर्नेका लागि महत्वपूर्ण शर्त भनेको सुदृढ सांगठानिक एकता, नेता–कार्यकर्ताको सक्रियता, त्याग र समर्पण अपरिहार्य छन् । साथै जनअपेक्षा, सुधारप्रतिको चाहनालाई ध्यानमा राख्दै पार्टी र जनता बिचको सम्बन्धलाई थप मजबुत बनाउन आवश्यक छ । यसैगरी, सिद्धान्त र व्यवहार बिच तालमेल मिलाउँदै जनविश्वास आर्जन गर्न निरन्तर प्रयास गर्नु पर्दछ । जनताको विश्वास नै कुनै पनि राजनीतिक शक्तिको सबैभन्दा ठूलो शक्ति हो भन्ने सत्यलाई आत्मसात् गर्दै यसलाई अझ मजबुत बनाउनु पर्दछ ।
जननेता मदन भण्डारीले देखाउनुभएको जनमुखी राजनीति, वैचारिक स्पष्टता, राष्ट्रिय स्वाभिमान र लोकतान्त्रिक प्रतिबद्धताको मार्ग आज पनि उत्तिकै सान्दर्भिक छ । मदन–आश्रित स्मृति दिवशले हामीलाई लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि अझ जिम्मेवार भएर अघि बढ्न प्रेरणा प्रदान गरोस् ।
अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस) २०२६ को अवसरमा सम्पूर्ण नेपाली श्रमिक दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु । श्रमिकहरूको श्रम, सीप, पसिना र समर्पणमै राष्ट्रको समुन्नति निहित रहने भएकाले श्रमको सम्मान, श्रमिक अधिकारको संरक्षण तथा सामाजिक सुरक्षाको सुनिश्चितताका लागि सबै पक्षको प्रतिबद्धता अपरिहार्य छ ।
बदलिँदो समय र प्रविधिको तीव्र विकासले चुनौतीसँगै रोजगारीका नयाँ अवसरहरू पनि सिर्जना गरिरहेको छ । यी चुनौतीहरूलाई सामना गर्दै अवसरहरूको सदुपयोग गर्न श्रमिकहरूले निरन्तर सीप विकास, सिर्जनात्मक सोचका साथ समयअनुकूल हुँदै अघि बढ्नु आवश्यक छ ।
मे दिवसले सम्पूर्ण श्रमिकहरूमा नयाँ उत्साह, आत्मविश्वास र एकताको भावना अभिवृद्धि गर्दै समृद्ध नेपाल निर्माणको अभियानमा थप प्रेरणा प्रदान गरोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु ।
२५७०औँ बुद्धजयन्तीको पावन अवसरमा सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । भगवान् गौतम बुद्धले देखाउनुभएको शान्ति, करुणा र अहिंसाको मार्ग आज पनि उत्तिकै सान्दर्भिक छ । उहाँका शिक्षाहरूले हामीलाई आपसी सद्भाव, समझदारी, सहिष्णुता र मानवताको भावना बलियो बनाउन प्रेरणा दिन्छन् ।
आजको यो विशेष अवसरमा हामी सबैले बुद्धका शिक्षालाई स्मरण गर्दै समाजमा शान्ति, सद्भाव र एकताको भावना अझ मजबुत बनाउन आ–आफ्नो तर्फबाट योगदान गर्ने संकल्प गरौं ।
नयाँ वर्ष २०८३ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । नयाँ वर्षले विगतका कतिपय असमझदारी, निराशा र अवरोधहरूलाई चिर्दै व्यक्तिगत, सामाजिक तथा राष्ट्रिय जीवनलाई समुन्नत बनाउने दिशामा अघि बढ्न हामी सबैमा नयाँ ऊर्जा, आशा र उत्साह सञ्चार गरोस् भन्ने कामना गर्दछु ।
२०८२ भदौ २३ र २४ गतेको घटनाबाट उत्पन्न विशेष परिस्थितिमा हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको परिणामले देशको राजनीतिक परिदृश्यमा निकै ठूलो फेरबदल ल्याएको छ । लामो इतिहास बोकेका स्थापित राजनीतिक दलहरूप्रति जनमतमा आएको परिवर्तन र नयाँ शक्तिहरूप्रति देखिएको आकर्षणलाई गम्भीर रूपमा लिनुपर्ने देखिएको छ ।
विशेष गरी, अघिल्लो निर्वाचनमा लोकप्रिय मतका आधारमा प्रथम स्थान हासिल गरेको नेकपा (एमाले)ले यस निर्वाचनमा अपेक्षाअनुसारको परिणाम प्राप्त गर्न नसक्नु गम्भीर समीक्षाको विषय हो । निर्वाचनको परिणामका कारणहरू खोज्ने क्रममा गरिने समीक्षासँगै पार्टीभित्रको एकता, अनुशासन र आपसी विश्वासलाई अझ सुदृढ बनाउनु अत्यन्त आवश्यक छ । नेकपा (एमाले) लगायत जनमतमा पछि परेका राजनीतिक दलहरूले निर्वाचन परिणामको गम्भीर एवं वस्तुनिष्ठ समीक्षा गरी प्राप्त निष्कर्षहरूलाई आत्मसात गर्दै पार्टीका नेता तथा कार्यकर्ताहरू संयम, अनुशासन र दृढ आत्मविश्वासका साथ अघि बढ्नु आवश्यक छ ।
यस पटकको निर्वाचन परिणामले मुलुकमा लोकतन्त्र स्थापनाका लागि दशकौँ लडेका पुराना दलहरूलाई आफ्नो संगठन, कार्यशैली र जनतासँगको सम्बन्धमा सुधार गर्नुपर्ने स्पष्ट संकेत गरेको छ । तसर्थ, जनताको भावना, अपेक्षा र असन्तुष्टिलाई गम्भीरतापूर्वक आत्मसात गर्दै जनमुखी कार्यक्रम एवं कार्यशैलीलाई प्राथमिकतामा राख्नु अहिलेको अपरिहार्य आवश्यकता हो । साथै, नयाँ पुस्ताको सक्रिय सहभागिता, नवीन सोच र प्रविधिको प्रभावकारी प्रयोगमार्फत पार्टीलाई समयानुकूल रूपान्तरण गर्नु पनि उत्तिकै जरुरी छ ।
अन्तमा, यस चुनौतीपूर्ण घडीमा वस्तुनिष्ठ दृष्टिकोण अपनाउँदै अझ बढी समर्पण, व्यापक एकता र सकारात्मक सोचका साथ पुनः जनताको विश्वास जित्ने दृढ संकल्पसहित अघि बढ्न सबैमा हार्दिक आह्वान गर्दछु ।
प्रेस विज्ञप्ति
सुशीला कार्की नेतृत्वको अन्तरिम चुनावी सरकारद्वारा गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरिएको ‘भाद्र २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोग २०८२’ को प्रतिवेदन वर्तमान बालेन्द्र शाह नेतृत्वको सरकारले कार्यान्वयन गर्ने निर्णय गरेको विषयप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।
कार्की आयोगको प्रतिवेदन स्वयंमा पूर्ण नभएको कुरा अध्ययनहरूले देखाएको सन्दर्भमा, सरकार गठन भएको पहिलो दिनमै उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गर्दै तत्कालीन प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष श्री केपी शर्मा ओली तथा पूर्व गृहमन्त्री श्री रमेश लेखकलाई पक्राउ गरिनु अत्यन्तै संवेदनशील र दूरगामी प्रभाव पार्ने विषय हो । यस प्रकारको अपरिपक्व निर्णय वर्तमान संविधान, प्रचलित कानुन तथा स्थापित लोकतान्त्रिक अभ्यासहरूसँग मेल नखाने देखिन्छ ।
कुनै पनि जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा विधिसम्मत प्रक्रिया, पर्याप्त अध्ययन तथा संस्थागत परामर्श आवश्यक हुन्छ । हतारमा गरिएको निर्णयले विधिको शासनप्रति जनविश्वास कमजोर बनाउन सक्छ र मुलुकमा पुनः द्वन्द्व तथा अस्थिरताको जोखिम बढाउन सक्छ ।
सुशासनलाई मुख्य एजेन्डा बनाएर गठन भएको वर्तमान सरकारबाट यस्तो अपरिपक्व कदम चालिनु अत्यन्त दुःखद् विषय हो । लोकतान्त्रिक मूल्य, मान्यता तथा संवैधानिक मर्यादाको सम्मान गर्दै उक्त निर्णयलाई पुनर्विचार गरी फिर्ता लिनु उपयुक्त हुन्छ ।
अतः सरकारलाई संयमता अपनाउँदै विधि र प्रक्रियाअनुसार अघि बढ्न तथा मुलुकको स्थायित्व र लोकतान्त्रिक प्रणालीको संरक्षणतर्फ गम्भीर हुन आग्रह गर्दछु ।
धन्यवाद ।
प्रधानमन्त्री बालेन्द्र शाहलाई हार्दिक बधाई !
विशेष परिस्थितिमा हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले हासिल गरेको सफलतापछि प्रधानमन्त्री पदमा नियुक्त हुनुभएकोमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता श्री बालेन्द्र शाहलाई हार्दिक बधाई !
मुलुकमा सुशासन, पारदर्शिता तथा जवाफदेहिताको स्थापना गर्दै आर्थिक समृद्धितर्फ महत्वपूर्ण प्रगति हासिल हुने अपेक्षा गरिएको वर्तमान सन्दर्भमा रास्वपाप्रति जनताले दर्शाएको समर्थन आफैंमा ठूलो जिम्मेवारी पनि हो ।
लोकतन्त्रको संस्थागत विकास, राष्ट्रिय एकताको सुदृढीकरण तथा संविधानको प्रभावकारी कार्यान्वयनमा तपाईँको नेतृत्व सफल रहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु ।
तस्वीर सौजन्य: आमसंचार
११६औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना।
विशेष परिस्थितिमा,यही २०८२ फाल्गुन २१ मा सम्पन्न प्रतिनिधि सभाको निर्वाचन शान्तिपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएकोमा सम्पूर्ण मतदाता, प्रधानमन्त्री सुशिला कार्की, निर्वाचनसँग सम्बद्ध निकाय तथा सुरक्षाकर्मी सबैलाई हार्दिक धन्यवाद।
सम्पन्न यस निर्वाचनमा निर्वाचित हुनुभएका सम्पूर्ण प्रतिनिधि सभा सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना। राष्ट्रको सर्वोपरि हितमा समर्पित भई कार्य गर्नुहुनेछ भन्ने विश्वास लिएको छु।
साथै, निर्वाचनमा सहभागी सम्पूर्ण राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूले जनादेशलाई स्वाभाविक रूपमा स्वीकार गर्दै सन्तुलित र संयमित ढङ्गले राष्ट्र प्रतिका आफ्नो कर्तव्य निरन्तर निर्वाह गर्नुहुने छ भन्ने आशा गर्दछु।
तस्विर सौजन्य: AI
राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ को हार्दिक शुभकामना । फागुन ७ गते नेपाली जनताको निरङ्कुश शासनविरुद्धको संघर्षले विजय हासिल गरेको ऐतिहासिक दिन हो । यसले लोकतन्त्र प्राप्तिका लागि नेपाली जनताले गरेको लामो संघर्ष, त्याग र बलिदानको स्मरण गराउँछ । यो दिवसले जनताको एकताबद्ध शक्तिले लोकतन्त्र, मानवअधिकार र राजनीतिक स्वतन्त्रता स्थापना गर्न सकिने प्रेरणादायी सन्देश दिन्छ ।
लोकतन्त्रलाई केवल राजनीतिक व्यवस्था मात्र नभई व्यवहार र संस्कारको रूपमा आत्मसात् गर्दै यसको संरक्षण र सुदृढीकरणका लागि निरन्तर प्रयासरत रहनु आवश्यक छ । संविधानले प्रत्याभूत गरेका अधिकार र दायित्वको सन्तुलित प्रयोगमार्फत लोकतान्त्रिक अभ्यासलाई अझ सुदृढ बनाउँदै लैजानु अपरिहार्य छ ।
विशेष राजनीतिक परिस्थितिमा, यही फागुन २१ गते हुने आम निर्वाचनलाई निष्पक्ष, शान्त र विश्वसनीय बनाउनु सबैको साझा दायित्व हो । राजनीतिक दलहरूले यस निर्वाचनलाई आत्मसमीक्षाको अवसरका रूपमा लिएर जनआकाङ्क्षा, विशेषगरी युवापुस्ताको अपेक्षालाई सम्बोधन गर्नु आवश्यक छ ।
राष्ट्रिय प्रजातन्त्र दिवसले हामी सबैलाई दिगो शान्ति, सुशासन, विकास र समृद्धितर्फ अघि बढ्न नयाँ उत्साह र प्रेरणा प्रदान गरोस् ।
महाशिवरात्री पर्व तथा नेपाली सेना दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
महाशिवरात्रीले आत्मशुद्धि, संयम, त्याग र सदाचारको मार्गतर्फ उन्मुख हुन प्रेरणा दिन्छ । पशुपतिनाथको रूपमा समेत पुकारिने भगवान् शिवको आराधनाबाट प्राप्त हुने आध्यात्मिक चेतनाले हाम्रो समाजमा शान्ति, सद्भाव, सहिष्णुता र एकताको भावना अझ सुदृढ होस् भन्ने कामना गर्दछु ।
आजकै दिन मनाइने नेपाली सेना दिवसले राष्ट्रको सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डता तथा राष्ट्रिय एकताको संरक्षणमा नेपाली सेनाले पुर्याउँदै आएको विशिष्ट योगदानको स्मरण गर्ने महत्त्वपूर्ण अवसर प्रदान गर्दछ । यस अवसरमा राष्ट्रसेवामा समर्पित नेपाली सेनाका सम्पूर्ण सदस्यहरूप्रति म हार्दिक शुभकामना व्यक्त गर्दछु ।
महाशिवरात्री पर्व तथा नेपाली सेना दिवसले सबै नेपालीमा राष्ट्रप्रेम, कर्तव्यनिष्ठा र आपसी सहकार्यको भावना अझ सुदृढ बनाओस् तथा देशमा शान्ति, स्थायित्व, समृद्धि र प्रगतिका नयाँ सम्भावनाहरूको ढोका खुलोस् भन्ने कामना गर्दछु ।
काठमाडौबाट ओखलढुंगाको पोल्थली तर्फ जांदै गरेको यात्रुबाहक बस मन्थली नगरपालिकाको त्रिवेणी नजिक भीरबाट खसेर दुर्घटना भई ठूलो मानवीय क्षति भएको खबरले अत्यन्त दुःख लागेको छ। म मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । पटक पटक भइरहेका यस्ता सडक दुर्घटनालाई न्यूनीकरण गर्नका लागि सवारी अनुशासनको कडाईका साथ पालना गर्न एवं दुर्घटनाका कारणहरू पहिचान गरी आवश्यक उपायहरू अवलम्बन गर्न म सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छु।
बिहिबार साँझ बैतडीको पुर्चौडी नगरपालिका–७ भवनेबाट जन्ती लिएर बझाङ फर्कदै गरेको बस बढ्गाउँमा दुर्घटनामा परि १३ जनाको असामयिक निधन भएको खबरले म अत्यन्त दुखी भएको छु । मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । साथै शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्दै यस दुर्घटनामा गम्भिर घाइते हुनुभएका व्यक्तिहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । प्रभावकारी उपचारको उचित प्रबन्ध र पहल गर्न स्थानीय,प्रदेश र केन्द्रीय सरकारलाई आग्रह गर्न चाहन्छु।
नेपालमा सडक दुर्घटनाको दर बर्षेनी बढ्दै गइरहेको अवस्थामा दुर्घटनाको कारणहरु पत्ता लगाई न्यूनिकरणको लागि तदारुकताका साथ पहल गर्न म सम्बद्ध सबै पक्षको ध्यानाकर्षण गर्दछु।
सहिद दिवस, ०८२ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्र तथा राष्ट्रिय स्वाधीनताको संरक्षणका लागि आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने महान् सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ लगायत सम्पूर्ण ज्ञात–अज्ञात अमर सहिदहरूप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।
सहिदहरूको त्याग र बलिदानबाट प्राप्त लोकतन्त्रलाई केवल संरचनागत उपलब्धिमा सीमित नराखी सुशासन, सामाजिक न्याय तथा आर्थिक समृद्धिसँग जोड्दै अघि बढ्नु हाम्रो साझा दायित्व हो । लोकतन्त्रलाई जनउत्तरदायी, पारदर्शी र प्रभावकारी बनाउँदै समृद्ध नेपालको आकांक्षा साकार पार्नु नै सहिदहरूप्रतिको सच्चा सम्मान हुनेछ । उक्त आकांक्षा साकार पार्न हामी सबैले आ–आफ्नो भूमिका इमान्दारीका साथ निर्वाह गर्न यस सहिद दिवसले थप ऊर्जा र प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।
विद्या, ज्ञान, कला र सङ्गीतकी देवी सरस्वतीको पूजा–अर्चना गरिने आजको पावन दिनले ज्ञान, विवेक र सृजनशीलताको अभिवृद्धि गर्न सबैमा प्रेरणा प्रदान गरोस् । वसन्त ऋतुको आगमनसँगै नयाँ ऊर्जा, आशा र सकारात्मक सोचले प्रत्येकको जीवनयात्रा अझ सुन्दर र सफल बनोस् । बालबालिकालाई अक्षर आरम्भ गराउने दिनका रूपमा समेत आत्मसात गरिने यस अवसरले विशेष गरी विद्यार्थीहरूमा अध्ययनप्रतिको रुचि, अनुशासन र सृजनशील क्षमताको विकास गर्न थप हौसला प्रदान गरोस् । सबैमा वसन्त पञ्चमी तथा सरस्वती पूजाको हार्दिक शुभकामना !
तस्वीर सौजन्य: इन्टरनेट
माघे संक्रान्ति तथा माघी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
माघे संक्रान्ति पर्व नेपालका विभिन्न समुदायहरूले आ–आफ्नो संस्कार, संस्कृति र परम्पराअनुसार हर्षोल्लासका साथ मनाउँदै आएका छन् । यस अवसरमा पवित्र नदीमा मकर स्नान गर्ने, पूजा–आराधना गर्ने तथा तरुल, सेलरोटी, तिलको लड्डु, घीउ–चाकुजस्ता परिकार ग्रहण गर्ने परम्परा रहेको छ । थारु समुदायमा माघीलाई नयाँ वर्ष तथा विशेष पर्वका रूपमा मनाइन्छ ।
माघे संक्रान्ति एवम् माघी पर्वले प्रकृति, संस्कृति र परम्पराको संरक्षण गर्दै सभ्य, सुसंस्कृत, विकसित र समतामूलक समाज निर्माणका लागि सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।
तस्विर सौजन्य: इन्टरनेट