सामजिक सन्जालको चरम प्रयोगलाई पनि इन्टरनेट दुर्ब्यसनी या भनौ खराब लत या अम्मल भित्र राखिएको छ। महिनौ पछि यता आइयो। यो बीचमा कहिल्यै यसको रत्तिभर तलतल लागेन। आदतविहीन भएर बाँच्नुको मजा अलि बेग्लै छ। स्वच्छ आनन्द! स्वच्छन्द!
मुटु छुने चिसो छ तराईमा। मलाई चिसोसँग गुनासो छैन्, मेरो गुनासो यहाँको गर्मीसँग मात्र हो। मलाई थाहा छ गर्मीसँग चित्त नबुझाउने मान्छेले यो मिठो चिसोलाई गाली गरेर धोका दिन हुँदैन। आऊ एक मुट्ठी चिसोहरू हृदय नजिक आऊ! तिमीलाई म न्यानो अङ्गालोमा बाँधेर राख्छु। : वेदर भाइब्स।
ढाडमा IMF को प्रतिवेदन, मस्तिष्कमा समृद्ध नेपाल सुखी नेपालीको नारा र हातमा समाजवाद उन्मुख संविधान बोकेको कुनै विरोधाभासपूर्ण दृश्य छ भने 'अहिले'लाई बुझ यो देश भन्नु त्यति नै हो।
'प्रदेश'मा मुख्यमन्त्री फलानोलाई दिने सहमति 'केन्द्र'ले गर्ने। संघीयताको गज्जब उदाहरण! अनि कि व्यवस्था जेजे होस् कि संस्कार चाहीँ 'यस्तै' हो भने नि लोकतन्त्रको स्तर चाहीँ 'उही' हो ल।
अचेल राजविराजमा बसाइ छ। आज धेरै दिनपछि बिहानै हिँड्न मन लाग्यो। सोझै दक्षिणतर्फ लागेँ। विष्णुपुर गा.पा.६ स्थित सानो बजार गोरगम्मा पुगेँ अनि फनक्क फर्किएँ। एक्कासि हाँसेको हिमाल देखेँ पहिलो पटक सप्तरीबाट। फर्केर राजविराजको नेताचोक नजिक आउन्जेल हिमाल हेर्न पाइयो। तराईबाट हिमाल वाह!
छोराछोरीले बुबाआमालाई टीका लगाइदिएको दृश्य चाहिँ कत्ति पनि नसुहाउने। बरु, बुबाआमाले छोराछोरीलाई टीका लगाइदिएर आशीर्वाद दिने पो होला(?) हुन त, बुझाई आ-आफ्ना हुन्छन् नै। आज मात्रै होइन, वर्षैभरी यस्तै देख्न र सुन्न पाइयोस्। सबैको जय होस्।
मान्छेको क्षेत्रफल जोख्ने तराजु मान्छेको मनले बनाएको सबैभन्दा पत्रु उपकरण हो। उसको आयतनको तौल बढी कि मेरो परिधिको तौल बढी भन्ने हिसाब मिलाउदा मिलाउदै औसत मान्छेको इहलिला समाप्त हुन्छ।
A myth ironically says the birth of Laxmi Prasad Devkota was geographical mistake. Sometimes, this layman feels not only Devkota but many more (almost all the common people) along with me.
धुपौरे संस्कृति यति व्याप्त छ र यति जब्बर छ कि सार्वजनिक क्षेत्र चाहे राजनीति होस् या कर्मचारीतन्त्र पूरै आक्रान्त छ। तिनलाई यति राम्रो ज्ञान छ कि तिनका भगवानका प्रिय वस्तु भेटी, सुरा अनि अप्सरा(लिङ्गको अर्थमा नबुझियोस्) कसरी व्यवस्थापन गर्न सकिन्छ ।बहुत ढोंगी लाग्छ यो सभ्य समाज।
क्विन्टल सुन बरामद भयो, संसद चलेन । सुन बरामद नभएको भए सुन पारी छिर्थ्यो, संसद चलिरहन्थ्यो। किन सत्ता निकट व्यक्तिहरू अनुसन्धानको दायरामा आइरहेका छैनन् भनेर सबैभन्दा बढी खबरदारी गर्न दायित्व संसदको हो अनि त्यसको मुख्य जिम्मेवारी प्रमुख प्रतिपक्षको। ऊ संसद बन्द गरेर बस्छ। पद्धति?
क्राइम कन्ट्रोल मेकानिज्म छ। बिना कुनै अप्रत्याशित घटना, नियमित अपराधका घटनाहरूको अनुसन्धानका नाममा ती संयन्त्रहरूलाई अविश्वास गरेर 'सुकुलगुण्डा' छानविन समितिको लबिङ हुन थालेपछि देशको लोकतान्त्रिक संस्कार र व्यवस्था छर्लङ्ग हुन्छ । ध्यान संयन्त्रहरू सबलीकरणमा लाग्नुपर्ने होइन ?
संसद प्रतिपक्षको थलो हो। यसले कानून जन्माउने मात्र होइन सरकारको खबरदारी गर्छ, जनजीविकाका मुद्दा उठाउँछ। उसैले बन्द गरेपछि साखुल्ले हुन पाइयो, समितिमा भागबन्डा मिलाउन पाइयो, बार्गेनिङ चलाउन पाइयो।
सुनकै मोटो सिक्री किन नहोस् कुकुरको घाँटीमा लाएपछि सिक्री रहँदैन, साङ्लो हुन्छ।