सम्पत्ति शुद्धीकरण र FATF Listing सम्बन्धि धारणा राख्दै:
सरकारले सम्पत्ति शुद्धीकरणविरुद्ध कठोर हुने दाबी गरिरहेको छ! यो निकै राम्रो कुरा भएको छ! कठोर हुने दाबी गरिरहँदा, अर्कोतर्फ, एउटा प्रभावशाली राजनीतिक दलका शक्तिशाली सभापति जोडिएको सहकारी अपचलनमा संलग्नता सँगै, अर्को, सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिइएको विषय गम्भीर सार्वजनिक बहसको विषय बनेको छ। किनभने यो विषय शक्तिशाली सभापतिसँग मात्र जोडिएको होइन, यस प्रकरणसँग जोडिएका शक्तिशाली सभापतिज्युका निकट सहयोगीहरू जीबी राई र छबिलाल जोशीहरुको अनुसन्धानसमेत निष्क्रिय बनाइएको छ ! सहकारी अपचलन र सम्पत्ति सुद्धिकरणसँग सम्बन्धित मुद्दा तथ्य र प्रमाणका आधारमा छिनो-फानो गरेर निष्कर्षमा पुगेर पूर्ण सफाई लिने हो कि, मुद्दा नै फिर्ता गर्ने हो ? उहाँहरु सबैका मुद्दा किन एकसाथ फिर्ता लिईयो ? यसमा बहस हुनु आवश्यक छ। सरकारले स्पष्टता दिन आवश्यक छ! किनभने, यही बिन्दुबाट सरकारप्रतिको विश्वास नागरिकहरुमा खस्किन सक्दछ। यही बिन्दुबाट कानूनको शासनमाथि नागरिकहरुले प्रश्न उठाउन थाल्दछन्। प्रश्न उठी सकेको पनि छ।
अझ विडम्बना त के छ भने सरकार स्वयंम अन्तर्राष्ट्रिय रूपमा सम्पत्ति शुद्धीकरण नियन्त्रणका मापदण्ड पूरा गर्न नसके नेपाल थप जोखिममा पर्न सक्ने भन्दै चिन्ता व्यक्त गरिरहेको छ। FATF Listing मा हामी Grey बाट Black लिस्ट मा पर्छौं कि भन्ने चिन्ता अर्थमन्त्रिज्युको सुनियो। हामीले मुद्दा छिनोफानो नगरी, फिर्ता लिने हो भने अवश्य पनि हामी Black लिस्ट मै पर्छौं। यसमा दुई मत नै छैन ! सरकार पक्षबाटै मुद्दा फिर्ता लिने र सरकार पक्षबाटै Somalia, Haiti जस्ता मुलुकहरुको रेन्जमा हामी पनि पर्न सक्छौं भनेर चिन्ता व्यक्त गर्ने Double Standard हामीले प्रस्तुत नगरौं होला। हामी एउटा कुरामा दृढ रहनैपर्छ : कानून सबैका लागि समान हुनुपर्छ। न्याय निष्पक्ष हुनुपर्छ। सुशासन Selective होइन, सबैका लागि बराबर हुनुपर्छ। यदि सरकारले यही आधार नै गुमायो भने पहिलो १०० दिनले आशाको होइन, संस्थागत अविश्वासको सुरुवात गरेको इतिहास लेखिनेछ भन्ने चिन्ता छ।