कसैले सोध्यो मलाई, "को हौ तिमी"?
"कुनै कविताको मेटाफोर
कुनै गजलको काफिया
सत्ताको विरोधी
प्रेमको प्रतीक
युद्धको सिपाही
आमाको शिशु
एक
आदि
सयौं अन्त्य
प्रत्येक दिन
सूर्यको सबै भन्दा प्यारो सन्तान
गोधुलीको प्यारो धुन
पूर्णिमाको प्यारो जुन;"
मेरो जवाफ थियो!!
यो हावा,
यो बतास,
यो स्पर्श,
सम्झाइरहेछ मलाई
सँगैका ती बात,
त्यो रात,
त्यो खाट,
तिम्रो काख,
अनि कसिएका
यी औंला,
हाम्रो ओँठ,
यो छाती,
तानिएको
मेरो कपाल,
निलो तन्ना,
तिम्रो शरीर,
तिमी सोध न कति सम्म टासिएर माया गर्छौ उसलाई?
म हामी बीच बग्ने पसिनाको बाटो भुलाइदिन सक्छु!
प्रेम यस्तो होस।
केही स्पिरिचुअल। जागतिक सस्कार र संस्कृतिभन्दा अलिक पर ।तर्क ,पदार्थभन्दा अलि पर ।सो-कल्ड एतिहासिक दन्द्दात्मक भौतिकवादभन्दा पनि पर ।गुलाफ र कण्डम भन्दा धेरै पर ।
स्वयम् भागवत गीतामा पनि लेखिएको छ कि यदि तिमीलाई कोही मान्छे राम्रो लाग्छ भने त्यो मान्छे राम्रो हुन जरुरी छैन। राम्रो त तिमी हौ किनकि तिम्रो आँखाले कसैलाई राम्रो देख्ने क्षमता राख्छ!
मन्दिर चाहर्ने म,
आजकल घाट धाउन थालेको छु
प्रेमको संसान मा म यसै टोलाउँदै
युगौं देखिको मृत प्रेम प्रतिमालाई म सोध्छु एकदिन..
"मैले मेरो आस्था बदले पछि
के उ एकपटक पनि यो चिहानमा आएको छ?"
मेरो सुरुवात, मेरो यात्रा, मेरो अन्त्य!
म,एक शून्य, तिमी कहिले नमेटिने शून्यता!
म,एकोहोरो समर्पण, तिमी अमोह!
म, एक सामान्य प्रेमी, तिमी असामान्य प्रेम!
कसले नै हार्यो र?
हामी दुईबीच हार्यो नै कसले र?
तिम्रो अहमले जित्यो, मेरो प्रेमले!
तिमी र म,
हामी हिँडेको बाटो कहीं मिल्यो भने त ठिकै छ,
यदि मिलेन, मैले मेरा पैताला लाई के भनी सम्झाउनु?
हिँड्न सक्ने जति त म हिडॅुला...
पैतालाले धर्तीमा कुँदिएको तिम्रो नाम
र हथौडा ले ढुङ्गामा कुँदिएको ईश्वरको नाममा
मैले धेरै समानता देखुला,
यदि देखिन भने, मैले मेरो यात्रा बदल्नु?