अरुजस्तो हुनु~
अरुकै हुनु!
मलाई म
मैजस्तै मन पर्छ।
जस्तो-
मलाई तिमी
तिमीजस्तै मन पर्छ।
आफू-
आफू भएर बाँच्न जति सुन्दर
के होला र संसारमा?
विचार गर त!
हिमाल-हिमाल भएरै सुन्दर छ
नदी-नदी भएरै बगिरहन्छ..
प्रिय~
तिमी- तिमी हुनु
म- मै रहुँला।
के तिमी
मभित्रको
'म'लाई स्विकार्छौ?
☺️
खोलाको ढुङ्गो उठाएर
सजाउँदैछौ मन्दिरभित्र!
के थाहा-
मसान पनि जाग्नसक्छ।
मसान-
जे अह्रायो त्यही गर्छ
जस्तो लगायो त्यस्तै गर्छ।
बस् खान देऊ, काम लगाऊ
भनेजति मान्छ।
सुरुसुरु छ तिलस्मी लाग्छ
खुरुखुरु मान्छ
अद्भूतै लाग्छ।
तर ख्याल राख
मसान आखिर मसान हो
एकदिन तिमीलाई नै खान्छ।
😊
खराब निस्किए
जीवनभर सही मानेका मान्छेहरु।
बरु सही निस्किए
खराब ठानेका मान्छे पनि।
एउटा रेखा थियो धारणाको
सही गलतको
सत्य असत्यको
धारणा न हो!
बन्यो.. टुट्यो..
टुट्यो.. बन्यो..
तब
छामेँ आफ्नै मनको ढुकढुकी
र खोजेँ भित्र, आफूलाई
मैले बाँचेको जीवन पनि
सही थियो कि गलत थियो?
☺️
खराब निस्किए
जीवनभर सही मानेका मान्छेहरु।
बरु सही निस्किए
खराब ठानेका मान्छे पनि।
एउटा रेखा थियो धारणाको
सही गलतको
सत्य असत्यको
धारणा न हो!
बन्यो.. टुट्यो..
टुट्यो.. बन्यो..
तब
छामेँ आफ्नै मनको ढुकढुकी
र खोजेँ भित्र, आफूलाई
मैले बाँचेको जीवन पनि
सही थियो कि गलत थियो?
☺️
एउटा जीवन
केवल एउटा जीवन हुन्न,
बरु सङ्गै जोडिएका हुन्छन्
अरु एकाध जीवनहरु।
एउटा व्यक्ति
फगत व्यक्ति रहँदैन
बरु छरिएको हुन्छ
परिवारमा, अफिसमा
समाजमा, भिडमा..
एउटा शरीर
जो हिँडिरहेछ बिच बाटोमा
ऊ एक्लो छ?
या छन् केही अरु शरीरहरु?
जो
उसलाई हिँडाइरहेछन्
बिहानदेखि साँझसम्म!
☺️
मनमा छन्
र त
छुट्छन् कि भन्ने डर छ।
डर छ,
छुट्छन् कि भन्ने
र त मनमा छन्।
मन अमन नहुन्जेल
यतै बसिराखुन् बसेकाहरु
के'था!
कुनै दिन
बसेकाहरुसँग नै डर पलाओस्
र दिक्क मानोस् मन पनि
मनसँगै बेमन भएर।
र ठानोस् मनले पनि
एउटा मुक्ति.. उन्मुक्ति..
र सायद त्यो दिन
न डर रहनेछ
न मन..
😊
म फर्किएँ,
कसैले भन्यो
र चुपचाप मुस्कुरायो।
मानौँ
फर्किरहेका हुँदा हो
मोहबाट मोक्षतिर
यात्राबाट विश्रामतिर
सपनाबाट यथार्थतिर
आफूबाट आफैँतिर..
र
बोकेर ल्याएको होस्
एउटा लामो यात्राको कथा
जीवनको कथा
र निलेको होस्
यात्राको कहाली।
म फर्किएँ,
कसैले भन्यो
र म चुपचाप मुस्कुराएँ।
😊
हरेक बिहान जन्मिन्छ
एउटा नयाँ घाम
अनि तङ्ग्रिन्छ बिस्तारै।
बामे सर्छ
ताते गर्छ
किशोर हुन्छ
जवान हुन्छ
अनि साँझ!
ओइलाउँछ, मुर्झाउँछ
डुब्छ अनि हराउँछ।
हरेक बिहान
जन्मिन्छ एउटा जीवन
र
हरेक साँझ
मर्छ एउटा दिन
घामजस्तै..
म
हरेक बिहान
एउटा जीवन सुरु गर्छु
र हरेक साँझ मर्नेगर्छु।
😊