म हुनेछु-
तिम्रा हरेक पाइलाहरुमा
सम्हालेर टेक्नु।
म हुनेछु-
तिम्रा हरेक खोजहरुमा
पछाडी फर्किनु
र हेर्नु।
म हुनेछु-
म नभएको बेला पनि
स्मृतिमा;
सम्झिनु
अँध्यारोमा पनि म त्यहीँ हुनेछु
प्रतिक्षामा उभिएको
महसुस गर्नु,
अन्धकारमा पनि मेरो उपस्थिति
नदेखिनु- नहुनु हैन
म हुनेछु..
😊
हिँड्नैपर्छ
बाटो काट्न,समय काट्न
र जिन्दगी कटाउन-
हिँड्नैपर्छ।
हिँडेरै पुगिन्छ
फूलको बगैँचा
र टिपिन्छ फूल।
हिँडेरै भेटिन्छ
मायालुको साथ
र फुट्छ प्रेमको मूल।
हिँडेरै चढिन्छ पहाड
र टेकिन्छ चुलीमा।
हिँडेरै तरिन्छ खोला
र पुगिन्छ अर्को किनारा।
जीवन त फगत यात्रा हो-
हिँड्नैपर्छ।
☺️
मेरो टोलमा
छिमेकीलाई थाहा छैन
छिमेकीको नाम।
मेरो टोलमा
चिन्दैन ओल्लो कोठाले
पल्लो कोठाको अनुहार।
घरैघरले भरिएको
मेरो एउटा टोल छ
जहाँ
कुकुर डोहोर्याउँदै मान्छे हिँड्छ
कुकुरले हेर्छ- मान्छे फर्किँदैन।
मेरो टोलमा
मान्छे त छन्
तर मौन छन्
बरु छन् केही कुकुरहरु
जो बोल्न सक्छन्।
😊
यदि कर्णालीलाई भित्रैदेखि महसुस गर्न चाहनुहुन्छ भने एकपटक ‘बैकिनी’ अवश्य पढ्नुहोला । पीडा, संघर्ष, प्रेम र मौन विद्रोहको कथा बोकेको यो उपन्यास असारको पहिलो हप्तादेखि बजारमा उपलब्ध हुनेछ । 🙏
सुन्दर लागेर
उक्लिएथ्यौ हिमालको भिरालो।
ठिहिर्याएन?
सुन्दर लागेर
उत्रिएथ्यौ खोलाको बहावमा।
डुबाएन?
सुन्दर त आगो पनि छ।
घाम छ-तारा छ..
प्राप्तिको चाहना
कति निर्मम छ है!
सुन्दर लागेर चुँडेथ्यौ
फक्रिएको फूल।
हातमा पर्नासाथ ओइलायो
मुर्झायो।
फूल हो-फक्रिँदैछ
बोटमै सुन्दर छैन र?
☺️
कति खतरनाक हुन्छ
एउटा बोली
जाऊ..
फगत एउटा शब्द न थियो
कोही हराइदियो- नभेटिने गरी।
कति कोमल हुन्छ
एउटा स्पर्श
छुनु..
फगत एक छुवाई न हो
तर बिझाउँछ- समय असमय
हुन त घाम उही न हो!
तर फरक पर्छ
बिहानको कलिलो किरण
र रापिलो मध्यान्हमै।
जसरी
प्रेमको पनि त मौसम हुन्छ!
हुन्न र?
☺️
अलिकति सपना थियो
बेचेँ
र एउटा साल कटाएँ।
अलिकति जिजीविषा थियो जीवनको
बेचेँ
र अर्को साल कटाएँ।
अलिकति उद्वेलन थियो- मनको
मिल्काइदिएँ
कसैको सम्झनामा।
र बेचिदिएँ
एक थोपो आँशु।
बेच्न बाँकी
केही शब्द छुटेथे
असरल्ल, मगजभरी-
कसले पो किन्थ्यो र!
अक्षर-अक्षर समेटेर
प्राण भरिरहेँछु।
☺️
थाहा छैन, एउटा कृति जन्माउन कति कृतिहरू पढ्नुपर्छ। तर मैले “बैकिनी” कर्णाली लाई देखेर, भोगेर, छोएर र गहिरोसँग महसुस गरेर लेखेको छु ।
अब यहि जेठ दोस्रो हप्तामा बजारमा आउँदैछ ।
#बैकिनी
सम्भव भएसम्म
हेरिदिनु नजर झुकाएर।
सम्भव भएसम्म
मुस्कुराउनु दोबाटोमा भेट हुँदा।
सम्भव भएसम्म
सम्झिदिनु अतितका दिनहरु।
सम्भव भएसम्म
मनमा राख्नु
यो मनभित्रको मनलाई पनि।
था'छ- धेरै कुरा सम्भव छैन
तर खोजिहेर्नु
आफूभित्रको आफूलाई।
सम्भव भएसम्म
म पनि खोजिरहेँछु
केही सम्भावनाहरु..
☺️
उसले राम जप्न सिकायो
तर फरक थियो
राम जप्नु र राम हुनुमा।
उसले बनायो
एउटा हनुमानको समूह।
तर कसले बुझ्यो र!
हनुमत् भाव थियो- वृत्ति थिएन..
रावण थियो, लङ्का थियो
हरिएकै थिइन् सीता पनि
सत्य हो,
युद्ध जरुरी थियो।
तर,
जो जो लडे रामराज्यको सपना लिएर
घरबास जलाएर
फेरि जङ्गल फर्किए।
😊
केही नाता तोडिए
केही याद छोडिए।
केही यात्री जोडिए त
केही बाटो मोडिए।
केही काम पुरा भए
केही आधा-अधुरा।
केही धेरै पर पुगे
केही थाती-अपुरा।
हरेक दिन उस्तै रह्यो
अस्तायो र उदायो।
हरेक दिन जिन्दगीको
एउटा थोपो बिलायो।
जे भयो जस्तो भयो
यो साल पनि उस्तै गयो...
😊
दुःखले मन थिच्दा
र खुसीले छाती भरिदिँदा,
साँससँगै सम्झिने
एउटै अनुहार तिमी,
राती निद्रा हराउँदा
र बिहान घामसँगै मुस्कान
फर्काउँदा,
मनको कुनामा बोलाउने
एउटै नाम तिमी,
मौसम झैँ बदलिने दुनियाँमा
स्थिर भएर मभित्र बाँच्ने
एउटै मान्छे तिमी .........♥
#आमा