नो पार्किङ्ग….
जब म थाकेर तिम्रो सामीप्यमा आउँछु,
तिम्रो त्यो न्यानो काख,
तिम्रो त्यो कञ्चन मुटु,
संसारको सबैभन्दा सुरक्षित र सित्तैको
'पार्किङ्ग जोन' बनिदिन्छ।
जहाँ न कुनै जरिवानाको डर छ,
न त कुनै सिठ्ठीको कोलाहल !
लौ न त प्रिय,
यो शहरले लखेटे पनि,
तिमी मलाई नलखेट्नु,
आफ्नो मुटुको
एउटा कुनामा सधैँका लागि लेखिदिनु—
यहाँ हजुर बाहेक अरूलाई पार्किङ्ग निषेध छ !
#विनोदविनोदी
बीच भुमरीमा हात छोड्नेहरूले, फेरि फर्किएर डुङ्गा किनारामा पुग्यो कि डुब्यो भनेर सोध्ने अधिकार गुमाइसकेका हुन्छन्।
किनभने केही उत्तरहरू शब्दले होइन, समयले लेख्छ। र केही पीडाहरू यस्ता हुन्छन्, जुन भोग्नेले मात्र बुझ्छ, छोडेर जानेले कहिल्यै होइन।
म किनारामा पुगेँ कि गहिराइमै विलाएँ, त्यो अब तिम्रो जिज्ञासाको विषय हुन सक्दैन। किनभने जुन क्षण तिमीले साथभन्दा सहज विदाइ रोज्यौ, त्यही क्षण मैँले पनि तिम्रो हरेक प्रश्नको उत्तर मौनतामै गाडिदिएको थिएँ।
अब यदि कहिल्यै मेरो खबर खोज्ने इच्छा जागे पनि, याद राख्नु, हराएको डुङ्गा भन्दा, छोडेर जाने हातको कथा धेरै पहिले डुबिसकेको हुन्छ।
#म_अनि_मेरो_भावना
तिम्रा शब्दहरू पढेँ... लाग्यो, समयले घाउ त पुरानो बनाइसकेको रहेछ, तर केही पीडाहरू अझै ताजा नै छन्।
तर सुन...
फर्केर आउने रहर म सँग पनि एक समय थियो, तर आत्मसम्मानले सिकायो, हरेक ढोका दोस्रो पटक ढकढक्याउनु प्रेम होइन।
तिमीले लेख्यौ, “फर्कि आऊ ...” तर केही मानिसहरू फर्किनका लागि होइन, सारा जीवन सम्झना का लागि आएका हुन्छन्।
तिमी भन्छौ, “मैँले त त्यो गुमाएँ, जो मेरो कहिल्यै थिएन।” तर मैँले त्यो छोडेँ, जसलाई आफ्नो बनाउन सक्थेँ, तर उसको खुसी मेरो उपस्थिति भन्दा टाढा थियो।
अब सपनामा भेटिए पनि मन बेचैन हुँदैन, किनकि वास्तविकताले एउटा सत्य बुझाइसकेको छ, अधुरा प्रेमहरू कहिल्यै अधुरा हुँदैनन्, तिनले मानिसलाई पूरा बनाइदिन्छन्।
आज पनि आँखा रसाउँछन्, तर कसैलाई फर्काउन होइन, आफ्नै आत्मालाई सम्झाउन, कि केही सम्बन्धहरू निभाउनु भन्दा छोडिदिनु धेरै पवित्र हुन्छ।
यदि कुनै दिन तिमीलाई लाग्यो म मौन भएँ, म कमजोर भएँ भनेर , त्यो भ्रममै बस्नु। किनकि सबैभन्दा ठूलो आवाज प्रायः मौनताले नै निकालिरहेको हुन्छ।
र अन्त्यमा...
अब म कसैको प्रतीक्षामा उभिएको मानिस होइन, आफ्नो मूल्य चिनेको एउटा यात्री हुँ। यदि कहिल्यै सम्झना आयो भने फर्केर नआउनू, किनकि मैँले तिमीलाई होइन, तिमी फर्किने सम्भावनालाई पनि बिदाइ गरिसकेको छु।
#म_अनि_मेरो_भावना
“सबै ठिक हुनेछ” भन्ने आशाले नै त
मानिसलाई बाँच्न सिकाउँछ...
र यदि कहिल्यै सबै कुरा ठिक भएन भने पनि,
समयले त्यसै सँग बाँच्ने बानी बसाइ दिन्छ।
किनकि जिन्दगीले सबै घाउ निको पार्दैन,
केही पीडा सँग मुस्कुराउन मात्र सिकाउँछ।
केही अधुरा कथाहरू पूरा हुँदैनन्,
तर तिनै अधुरोपनलाई स्वीकार्न
मन बलियो बनिदिन्छ।
अन्ततः, सबै ठिक हुनेछ...
र ठिक नभए पनि, त्
यो पीडा सँग बाँच्ने कला अवश्य आउनेछ...!! 🖤
#म_अनि_मेरो_भावना