गोली भन्दा बोलिको प्रहार हान्ने हुन्छन यहाँ
साथ दिनेहरु भन्दा धेरै खुट्टा तान्ने हुन्छन यहाँ
कठै,, सैद्धान्तिक शिक्षा रुपि यो मेरो देशमा
इन्जिनियर भन्दा ठेकदार जान्ने हुन्छन यहाँ ।।
#गजल
माया नपच्नेहरुलाई पो प्रेम घाँडो हुन्छ त,
मुटु जलेको मान्छेलाई पनि कहि जाडो हुन्छ त !
आजित परे तिम्रा यि प्रश्नबाट 'कति गर्छौ माया ?’
प्रीय, यत्ति भनि नाप्ने कुनै भाडो हुन्छ त!
नसोध मलाई बिहे कहिले भनि २,४ बर्ष अझै,
अपबाद बाहेक, इन्जिनियरको बिहे पनि कहि चाँडो हुन्छ त !
बा को जनैमा....
अल्झाईएको चावीबाट खुल्ने त्यो ट्याङ्का, आज बा जस्तै वृद्ध भैईसकेछ !
आमा भन्नुहुन्थ्यो,
तेरा बा ले दिन भरी मेलापात जादैँ, दुई बिस कमाए भने सबै ट्याङ्का मै राखी दिन्थ्ये,
दशै तिहार तिर...
हाम्रा लागि खुल्ने त्यो ट्याङ्का, खुलेको आवाजले मन भित्र छुट्टै खुशीका लहर फुटाई दिन्थ्यो,
आफू रित्तिएर भरिएको त्यो ट्याङ्का, हाम्रा खुशिका लागि बा ले फेरी रित्याई दिनु हुन्थ्यो।
हाम्रा लागि फलामको डब्बा जस्तै लाग्ने ट्याङ्का, बा का लागि स्वर्ग थियो,
के थिएन त्यहाँ,
खेतबारीको लालपुर्जा देखि खेतबारीको तिरो तिरेका बिलसम्म हुन्थ्यो,
पैसा लिएका मान्छेको नाम देखि, पैसा तिर्नु पर्ने साहुका नाम समेत हुन्थ्ये,
आमालाई जोडिदिएको नौगेँडी देखि बुढेसकालमा तिर्मिराउने दृश्य स्पष्ट देखाउने चस्मा समेत हुन्थ्ये,
बा आमाका नागरिकता देखि, हाम्रा जन्मदर्ताका कागज पत्र समेत हुन्थ्ये,
आज बा जस्तै शान्त बसेको छ उ..
ट्याङ्का भित्र बा का याद बाहेक केही छैनन्,
आज उसलाई खोल्ने चाबी कहि कतै नभेट्टिने गरि हराएको छ,
आज उ अतीत जस्तै बनेको छ, हेर्ने बितिक्कै सम्झाई दिने,
भित्तामा झुन्डाएको.., बा को तस्बिर जस्तै फुस्स उडेको छ ,
रङ्गहरु फिक्का बनेका छन्, स्मृतिमा बा का यादहरु जस्तै गरि ,
ताल्चाहरु सधैका लागि बन्द भएका छन, बा फर्की आउने बाटो बन्द भए जस्तै गरि,
आजकल..
न ट्याङ्का खोलेको आवाज आउँछ, न बा बोलेको आवाज आउँछ,
हाम्रा लागि दुई बिस जम्मा गर्ने बा का लागि,
मिल्ने भए दैवसँग सौदावाजी गर्दै लाखौं र करोडौं जिम्मा लगाउदै तिनै दुई बिस जम्मा गर्ने हात माग्थ्ये ❤️
Via: Rabin Sapkota
#मुक्तक
अचम्मित पर्छु जब आफ्नै पारा सम्झन्छु
रातमा चम्किने जुनकीरी समेत तारा सम्झन्छु
यदि मन छैन भने साफ भनिदेउ प्रिय , नत्र
तिमी सर्माएको त म इसारा सम्झन्छु ।।
~अच्युत