' ए, त्यो मुला को हो र !' - आदर्श नभएको समाज !
‘आजको नेपाली समाजमा कुनै आदर्श बाँकी छैनन् । हामीले कसैलाई बाँकी नै राखेनौं । आदर्शहरू निर्माण हुने प्रक्रियाको नै हत्या गरियो । जानाजान र अनजान दुवै किसिमले यो कृत्य गरियो । आजको नेपाली समाजका आदर्शहरू नेपालमा होइन, नेपालबाहिर मात्र बन्न सक्ने, बस्न सक्ने परिस्थितिको निर्माण गरियो । आदर्श नभएको समाज यस्तै हुन्छ, जस्तो आजको नेपाल छ ।’
नयाँ दशक सुरु भएको छ । ८० को दशक । मभित्र पत्रकार कति बाँकी छ ? भन्न सक्दिनँ । म यो पनि भन्न सक्दिनँ – मभित्र ती सामग्री पढ्ने जाँगर कति बाँकी छ, जसलाई मान्छेहरू ‘समाचार’ भन्छन् वा ‘विचार’को नाम दिएर छाप्छन् ।
कोभिड लकडाउन���छि छुटेको अखबार पढ्ने बानी आजसम्म फर्केको छैन । महिनौं, वर्षौंको ‘ग्याप’पछि विश्वकप फुटबल हेर्न खुलेको टेलिभिजन सेटमा फाइनल खेल सकिएपछि मेरो ध्यान हिजोआज महिनामा एक पटक मात्र जान्छ । जब मलाई लाग्छ, स्क्रिनमा जमेको धूलो पुछ्ने बेला भयो होला भनेर ।
म सधैं यस्तो थिइनँ । एक युग यस्तो पनि थियो, जब मलाई लाग्थ्यो – म भित्र पत्रकारबाहेक अरू केही पनि छैन । मलाई लाग्थ्यो – हरदिनको समाचारसँग अपड��ट हुनु जीवनको अनिवार्यता हो । म ठान्थें, पत्रकार नभएको दिन मसँग केही बाँकी रहनेछैन ।
पञ्चायती व्यवस्थाका दौरान मैले काम गर्ने साप्ताहिकका सम्पादकहरू जेल परे, टाउकोमा गोली खाए । कैयौं पटक हाम्रो पत्रिकाको दर्ता खारेज गरियो । तर त्यस्तो समयमा पनि हामीले हरेस खाएनौं ।
जीवनमा कुनै विकल्प नभएर वा काम नपाएर म पत्रिकारितामा आएको थिइनँ । पुल्चोक क्याम्पसमा मेरिट लिस्टको विद्यार्थी थिएँ । इन्जिनियरिङको सुरक्षित करिअर छाडेर मैले पत्रकारिता गरेबापतका अभाव र प्रताडनाको बोझ कुनै झर्को नमानी खुसीसाथ बोकें । किनभने ती दिनमा हामीसँग सपना थियो । साहस थियो । धैर्य थियो । थोरबहुत प्रतिभा थियो । र, सबैभन्दा ठूलो कुरा त्यस बखत हामीसँग केही जीवित आदर्श थिए । हामीसँग केही यस्ता अग्रज थिए, जसलाई हामी धेरै सम्मान र इज्जतका साथ हेर्ने गर्थ्यौं । पत्रकारितामा उनीहरू हाम्रा आदर्श थिए । हाम्रा महान् आदर्शहरू नै हाम्रो औसत जीवनका इन्धन थिए । उनीहरू थिए, हामीलाई त्यति भए लाख हुन्थ्यो ।
समयक्रममा हामीले थाहा पाउँदै गयौं कि, हामीले आदर्श मानेका अग्रजहरू त्यति महान् र आदर्शमय थिएनन्, जति हामी ठान्ने गर्थ्यौं । तर यो नयाँ जानकारीले पनि हाम्रो मनमा अग्रजहरूप्रति सम्मानमा कु���ै कमी ल्या��न । मलाई हमेसा लाग्यो, मान्छे आफ्नो कमजोरीका साथ पनि महान् हुन सक्छ । पूर्णिमाको चन्द्रमासँग मेरो प्रेम छ । म ती मान्छेहरूमा पर्न सक्दिनँ, जसलाई हजार पटक पूर्णिमाको जून देखाए पनि त्यसमा दागबाहेक केही देख्दैनन् ।
दाग नभएको चन्द्रमा कागजमा मात्र सम्भव छ, आकाशमा होइन । त्यसैले मलाई कागजको फूल होस् वा चन्द्रमाहरूमा कहिल्यै रुचि भएन । चाहे ती जतिसुकै बेदाग किन नदेखिऊन् ।
त्यसैले मैले आफ्��ा अग्रजहरूमा भएका महान् गुणहरू देखें । उनीहरूमा भएका सानातिना मानवोचित कमीकमजोरीलाई नजरअन्दाज गरिदिएँ । किनभने मलाई लाग्य – खोटरहित आदर्श कागजमा मात्र सम्भव हुन्छ ।
पत्रकारितामा मात्र होइन, त्यस बखतको नेपालमा जीवनका हर क्षेत्रमा आदर्शहरू थिए । त्रिचन्द्र क्याम्पसको कम्पाउन्डमा एक दिन कुनै विद्यार्थीले आफ्नो अगाडि चुरोट तानेको देखेर प्राध्यापक दिव्यदेव भट्टले त्यो विद्यार्थी��ा गाला चड्काइदिए । गुरुले चड्काएर पनि विद्यार्थीले वनस्पतिशास्त्रका प��िला नेपाली पिएचडी डा. भट्टलाई आफ्नो आदर्श मान्न छाडेन ।
राजनीति होस् या साहित्य वा सङ्गीत वा चित्रकला अथवा जीवनको अन्य कुनै विधा – हर क्षेत्रमा आदर्शहरू थिए । बिपी, गणेशमानजी, किसुनजी, पुष्पलालजी, पारिजात, भूपी, शङ्कर लामिछाने, नातिकाजी, गोपाल योञ्जन, अम्बर गुरुङ, नारायणगोपाल, लैनसिह वाङ्देल, शशि शाह, यदुनाथ खनाल, डोरबहादुर विष्ट, महेशचन्द्र रेग्मी, हर्क गुरुङ, रत्नबहादुर विष्ट, गणेशराज श���्मा – लामो सूची बनाउन सकिन्छ, हर विधाका आदर्श नक्षत्रहरूलाई समावेश गरेर ।
मैले कुनै युगमा एउटा कार्यक्रम प्रस्तुत गरेको थिए – ‘शनिबार विजयकुमारसँग : समाजका उज्यालाहरू ।’ त्यस्तै खाले सकारात्मक सोचबाट प्रभावित अर्को सिरिज प्रस्तुत गरेको थिए – ‘मेरो जिन्दगी : मेरो विश्वास ।’ ती दुवै शृङ्खलामा आएका केही नामलाई समाजको ठूलो हिस्��ाले लामो समयसम्म आदर्श मान्यो । धेरै मान्छेले प्रेरणा लिए, तिनीहरूको जीवन र कर्मबाट ।
यो त भयो, हिजोको नेपालले उत्पादन गरेका आदर्शहरूको कुरा । के आजको नेपालमा कुनै आदर्श छन् ? के आजको नेपालले उत्पादन गरेका आदर्शहरूको सूची बनाउन सकिन्छ ? कदाचित् कुनै सूची बन्यो भने, के त्यसले समाजमा व्यापक अनुमोदन प्राप्त गर्न सक्छ ? कदाचित् त्यस्तो कुनै सूची बन्यो वा त्यस्तो कुनै नाम अगाडि आयो भने पनि त��यो नाम कतिन्जेल टिक्छ ? हामी त्यसलाई कतिबेर चुचुरोमा टिक्न दिन्छौं ? कुनै पनि पेसाको चचुरो गजबको ठाउँ हुन्छ । त्यहाँ चढ्न जति मुस्किल, टिक्न कैयौं गुणा गाह्रो ।
कृपया मलाई बताउनुस्, के तपाईं आजको नेपालका आदर्शहरूको सूची बनाउन सक्नुहुन्छ ? जसको कामको सुगन्ध वर्षौंवर्षपछि पनि कायमै रहनेछ ।
कृपया त्यस सूचीमा तपाईं सन्दुक रुइत, भगवान कोइराला वा दीप श्रेष्ठ जस्ता सजिला नाम नजोड्नुहोला । त��� नाम आजको नेपालका होइनन्, हिजोको नेपालका उत्पादन हुन्; भलै ती आज पनि सक्रिय छन् ।
के आजको नेपालको बौद्धिक जगत्मा कुनै यस्तो नाम �� ? जसको कुनै कृति – महेशचन्द्र रेग्मी वा डोरबहादुर विष्ट वा हर्क गुरुङ वा सत्यमोहन जोशी वा कमलप्रकाश मल्लका कृतिको छेउछाउ उभिन सकोस् ।
आज हाम्रा विश्वविद्यालयहरूमा त्यो साइजका मान्छेहरू किन छैनन्, जसलाई टाढैबाट हेर्दा श्रद्धा जागोस् । तिनीहरू हाम्रो छेउबाट निस्कँदा, मनमा स्वचालित रूपले नमनभाव जागोस् । उनीहरू आउँदा बाटो छाडेर किनारमा एकछिन उभिएर सम्मान प्रकट गर्न मन लागोस् । पछिल्ल��� केही समयमा मेरो मनमा आदर्शहरूलाई लिएर सवालहरूको हावाहुरी चल्न थालेको छ ।
के नेपाली समाजमा सम्मान गर्न लायक मान्छे सकिएका हुन् ? के समाजमा अब नकारात्मकताको भाष्यबाहेक केही छैन ? के नकारात्मकता नै आजको मूलप्रवाह भाष्य हो ? के परनिन्दा नै हामी हुनुको एक मात्र अर्थ हो ? जस्को नाम लिए पनि ‘को हो र त्यो मुला ? को हो र त्यो मुली ?’ भन्ने भावना किन ब्यापक हुंदैछ ?
के यही विशुद्ध नकारात्मक भाष्यको पोखरीमा हामीले – राम्रा, नराम्रा र औसत – तीनैथरीलाई एकै घानमा हालेक���ले आजको नेपालमा भएका कैयौं आदर्श पनि नदेखिएका हुन् ? वा कसैमा राम्रो आदर्श देख्ने रसायन नै नेपाली समाजमा सुकेको हो ? वा जनताले आदर्श मानेका कैयौंले पालैपालो आफैंलाई खसाल्दै गएको अवस्था हो ? कुनै पनि क्षेत्रको नेताले आफूलाई आदर्श नेताको स्थानमा किन राखिराख्न सक्दैन ? के आदर्श नेता एक असम्भव कल्पना हो ?
नेपालमा भएका आदर्शहरू आफ्नो स्वाभाविक मृत्यु मरेका हुन् ? वा मारिएका हुन् ? वा तिनले आफ���लाई आफ्नो ठाउँमा राख्न नसकेर आत्महत्या गरेका हुन् ? कारण जेसुकै होस्, नेपाली समाजमा आदर्शहरू हराउँदै गएको कुरा सत्य हो । हुन त सवाल यो पनि उठ्छ, के आदर्शहरू नेपालमा मात्र हराउँदै गएका हुन् वा आजको दुनियाँमा संसारभर यहीँ हुँदै गएको छ ?
यही प्रसङ्गमा कुरा गर्दा प्रश्न त यो पनि उठछ – के कोही मान्छे जीवनको एक कालमा आदर्श हुंदैमा सर्वकालिक आदर्श भइरहन सम्भव छ ? आदर्श क्षणिक विषय हो कि सर्वकालिक कुरा हो ? आदर्श क्षणिक कुरा हो भने आज पनि कैयौं नाम छन्, जसलाई हामी आदरपूर्वक किन स्मरण गर्छौं, उनीहरू बितेको यतिका वर्षपछि पनि किन याद आउँछन् उनीहरू ?
कदाचित् बिपी, पुष्पलाल, गणेशमानजी, किसुनजी, मनम���हनजी, सहाना प्रधान, मङ्गलादेवी वा मदन भण्डारी वा राजा महेन्द्र र राजा बिरेन्द्र आज जीवित र सक्रिय राजनीतिमा भएका भए के उनीहरू आदर्श भइरहन सक्थे ? के आजको युग, समाज, मिडिया र सञ्जालले उनीहरूलाई त्यस उचाइमा बसिखान दिन्थ्यो ? वा उनीहरूले कुनै बेग्लै तरिकाले, कुनै मौलिक तरिकाले – आफ्नो शालीनता र महानतालाई कायमै राख्थे ? म यसै भन्न सक्दिनँ ।
के आदर्श स्वतः उत्पन्न हुन्छ ? वा त्यसलाई समाजले, राज���ीतिक दलहरूले, सरकारले, संसद्ले, प्रतिपक्षले, अदातलतले, मिडियाले, निजी क्षेत्रका प्रतिष्ठानहरूले थोरबहुत मलजल गर्नुपर्छ कि पर्दैन ? के आदर्श स्वतः हुर्कन्छ ? वा समाजले त्यसलाई हुर्कन थोरबहुत भरथेग गर्नुपर्छ ? के सत्य आफैं जित्छ ? वा सत्यलाई जिताउनु पनि पर्छ ?
यस्तै सवालहरूमा चिन्तन गर्दै जाँदा म ठोकिन पुगें, नीरज पौडेलसँग । अर्थशास्त्री नीरजको विद्यावारिधि अर्थशास्त्रमा छ । म उनीसँग बेलाबखत अर्थशास्त्रको आलोकमा बृहत् समाजबारे कुरा गर्न रुचाउँछु । नीरजलाई पनि मैले डेढदुई दशकदेखि प्रयोग गर्दै आएको तर हाल अकाट्य रूपमा स्थापित हुँदै आएको ‘वैश्ययुग’मा गहिरो रुचि छ ।
एक दिनको कुरा हो ।
नीरज पौडेलले भने, ‘आजको नेपाली समाजमा कुनै आदर्श बाँकी छैनन् । हामीले कसैलाई बाँकी नै राखेनौं । आदर्शहरू निर्माण हुने प्रक्रियाको नै हत्या गरियो । जानाजान र अनजान दुवै किसिमले यो कृत्य गरियो । आजको नेपाली समाजका आदर्शहरू नेपालमा होइन, नेपालबाहिर मात्र बन्न सक्ने, बस्न सक्ने परिस्थितिको निर्माण गरियो । आदर्श नभएको समाज यस्तै हुन्छ, जस्तो आजको नेपाल छ ।’
‘नीरजजी, नेपाली समाजबाट आदर्शहरू कुन प्रक्रियाबाट लोप भए ? के तिनीहरूको स्वाभाविक मृत्यु भयो ? वा जानी नजानी हत्या गरियो ?’
‘यो सवालको जवाफ मलाई भन्दा तपाईंलाई बढ्ता थाहा छ, विजयजी । लेख्नुस् न बरु यो विषयमा, बोल्नुस् न यो विषयम – किन हामी आदर्श नै नभएका मान्छेहरूको समाज बन्यौं ? हर क्षेत्रमा भएका नायक–नायिकालाई विखण्डन गरेर, उनीहरूका जायज–नाजायज अतिरञ्जित मानमर्दन गरेर आज हामी कस्तो समाजमा आइपुग्यौं ? यस्तो समाज, जोसित कुनै आदर्श छैन ! यस्तो समाज, जहाँ कसैले कसैलाई देशभित्र कसैलाई आदर्श मान्दैन, जसको नाम भने पनि ए त्यो मूला भन्छ । आफ्नो आदर्श खोज्न कि कतार जान चाहन्छ वा क्यानडा वा गच्छेअनुसार यस्तै कतै अर्को भूगोल जाने सपना देख्छ वा बाध्य छ । वा देशभित्रै बसेर ए त्यो मूला अथवा त्यो मूली भन्दै जीवन काट्छ ।’
यो सुनेपछि मैले जवाफ फर्काएँ, ‘म तपाईंसँग धेरै हदमा सहमत छु, नीरजजी । आज नेपालमा कोही गरिब होस् या धनी— उसले नेपाल होइन, अन्तै कतै आफ्नो भविष्य देख्छ वा देख्न थालेको छ । नेपालमा कसैले कसैलाई गन्नै छाडेको अवस्था छ, सिवाय आफ्नो पक्ष, सिवाय आफ्नो गुटको नेता । युवा पुस्ताका लागि नेपालमा कुनै विराट् आदर्श बाँकी रहे जस्तो मलाई पनि ल���ग्न छाडेको छ । तर म आशावादी मान्छे हुँ । म प्रयास गर्नेछु, तपार्इंको सवालको जवाफ खोज्ने, छलफल चलाउने— किन आज नेपाली समाजमा आदर्शहरू बाँकी छैनन् ? मलाई लाग्छ, यो एक यस्तो मौलिक प्रश्न हो, जसको सन्तोषजनक जवाफ फेला नपारी; नेपालबारे बाँकी प्रश्न उठाउनु या त अज्ञानताको परिचायक हो या कपटी चालबाजी हो । यस प्रश्नबाट हामी धेरै उत्तरहरूको छेउछाउ पुग्न सक्छौं ।’
यति भनेर मैले कफी रित्याएँ र हामी आआ���्नो बाटो लाग्यौं । त्यस दिन घर पुगेर म धेरै बेरसम्म डा. नीरजको प्रश्नमा घोत्��िएँ । आजका मितिसम्म नीरजले सायद आफ्नो प्रश्न बिर्से होलान् । तर मैले उनको प्रश्न भुल्न सकेको छुइनँ ।
प्रश्न उठाउन सजिलो छ; जवाफ दिन मुस्किल छ । राजनीति नेपालको सबैभन्दा ठूलो उद्योग हो भनेर यस देशमा सबैभन्दा पहिला भन्ने र लेख्ने मान्छे हुँ म । राजनीतिपछि नेपालमा ‘प्रश्न उठाउने उद्योग’ ज्यादै फस्टाएको छ । यसैबीच हर दिन, हर पल जायज–नाजायज प्रश्न उठाएर समाजलाई निरन्तर हुँडलिरहने हुल खडा ��एको छ । यसो भनेर म प्रश्नको महत्तालाई रत्तिभर न्यूनीकरण गर्न रहेको छुइनँ । सिक्काको अर्को कोणलाई ऐना देखाएको चाहिँ जरुर हो ।
प्रश्नको महत्त्व उच्चतम छ । खुसीमा कतै लेखेको छ – ‘श्रीमद्भगवद्गीताको जन्म श्रीकृष्णका जवाफका कारण होइन, अर्जुनका प्रश्नहरूको परिणाम हो । अर्जुनको साटो नहकुलले – ‘कसरी कौरव सेनालाई मारौं, कसरी गुरु द्रोणाचार्यको वध गरौं, माया लाग्छ’ भनेर प्रश्न सोधेका भए श्रीकृष्णले मुस्कुराएर टालिदिने थिए, छोटी म���ह बडी बात भनेर । गीता प्रथम अध्यायमै तिरोहित हुन्थ्यो, कुरा त्यहीँ सकिन्थ्यो ।
तर सवाल नहकुलले होइन, अर्जुनले सोधेका थिए । एक्लै कौरव सेनालाई ध्वस्त गर्ने क्षमता राख्थे महारथी अर्जुन । त्यसैले श्रीकृष्ण हलुका जवाफ दिएर पन्छन सक्दैनथे । प्रश्नको महत्त्व ठूलो छ । तर प्रश्न आफैंमा सर्वोपरि होइन । प्रश्न केही थोक हो । प्रश्न सबथोक होइन ।
हामी प्रश्न किन सोध्दै छौं ? आफ्नो मनको स्वाभाविक ��िज्ञासाका लागि ? मुक्तिका लागि ? अरूभन्दा जान्नेछु भनेर देखाउनका लागि ? अरूलाई खसाल्नका लागि ? नितदिन नयाँ तमासा खोज्ने आफ्नो रोगी मनको खुराकका लागि ? कुनै ‘टक सो’का लागि निर्धारित समय भर्नका लागि ? वा समाजका समस्या समाधान होऊन् भन्ने असल मनसायका लागि ? सञ्जालमा फलोअर बढाउनका लागि ? आलोचनात्मक चेतका लागि ? वा आलुचनात्मक चेतका लागि… प्रश्न केका लागि ?
प्रश्नका पछाडि नियत के हो ? आफ्नो निजी वा गुटगत अहङ्कारको तुष्टिका लागि ? कसैको बेइज्जत गर्नका लागि ? तमासा र मनोरञ्जनका लागि ? रेला वा मेलाका लागि ? वा कुनै समस्या समाधानमा सहयोगी हुनका लागि… के का लागि ?
प्रश्न सोध्नु महत्त्वपूर्ण छ । तर प्रश्न आफैंमा समाधान होइन । प्रश्न समाधानभन्दा महत्त्वपूर्ण होइन । एक भनाइ छ – ‘प्रार्थना गर्ने ओठहरू वा नाराबाजी गर्ने जिब्राहरूभन्दा सेवा गर्ने हात बढी महत्त्वपूर्ण हुन्छन् ।’
शब्दकोशमा जीवनलाई संज्ञा (noun) भनेको हुन्छ । तर यथार्थमा – जीवन क्रिया (verb) हो । यो व्याकरणगत अलमल नै आजको अज्ञानको बीउ बनेको छ । आजको नेपालमा कैयौं समस्याको जरो हो यो ।
किताबमा जीवनलाई संज्ञा भनिएको छ । जीवनका यथार्थमा जीवन क्रिया हो । यो वैचारिक अस्पष्टता जारी नै रहे जीवन ८० को दशकमा पनि त्यसरी नै चल्नेछ, जसरी चल्दै आएको छ । के ०८० को दशक नेपालीका निम्ति सोचको नयाँ जागरणको ‘रेनेसा’ लिएर आउनेछ ?
ज्ञान (knowledge) बुद्धि (Intellegence) प्रज्ञा (Wisdom) फरक कुरा हुन् । नेपाल त अहिले त्यो स्टेजमा छ, जहाँ विश्वविद्यालयमा पढाउने कैयौं मान्छेलाई सूचना र ज्ञान विषयको सामान्य अन्तर पनि थाहा छैन ।
त्यसैले त मैले ‘डिग्रीधारी म��र्खहरू र खुइलिँदै गएको बौद्धिकता’ भन्ने पोडकास्ट गरें । सुरुमा हाम्रा कैयौं बौद्धिक रिसाए । पोडकास्ट गरेको दुई वर्षपछि आज बिस्तारै भन्न थाले— केही दम त छ त्यो पोडकास्टमा । अब आउने दुईचार वर्षपछि त्यसमा थप केही प्रतिशत दम देख्नेछन् । त्यति भए पुग्यो मलाई । सुलभ सूचनाको यस युगमा हिजोका दिन जस्तै कोही पनि फगत सूचना हात पारेको बलमा विशेष बौद्धिक हुन सक्दैन । हिजोका कैयौं ‘विशिष्टहरू’ गुग��� क्रान्तिपछि आजका ‘सामान्यमा’ परिणत भएका छन् । आकर्षणको रङ खुइलिएको छ । यो स्वाभाविक प्रक्रिया हो । यसमा कोही रिसाउनुपर्ने वा खुसाउनुपर्ने केही छैन । हामी इन्टरनेट क्रान्तिका मारक प्रभावहरू बुझ्न असमर्थ छौं ।
एक प्रसिद्ध वचन छ – सही सवाल सोध्नु बुद्धिमानी हो । सही जवाफ दिन सक्नु ज्ञान हो । कुन बखत, कुन सवाल सोध्ने भन्ने बोध हुनु प्रज्ञा हो । Wisdom is knowing when to ask the right questions.
त्यस्तै एउटा पुरानो लोकोक्ति छ – ‘एउटा मूर्खले एक मिनेटमा जति सवाल उठाउन सक्छ, कुनै बुद्धिमानले त्यसको जवाफ सारा जीवन लगाएर पनि दिन सक्दैन ।’
यो त भयो पुरानो लोकोक्ति । आजको नेपालमा, बितेको सत्तरीको दशकको नेपालम – प्रश्न उठाउने फालाफाल भए, जवाफ दिने शून्यप्रायः भए । कहिलेकाही म सोच्छ – यो कस्तो समाज हो, जहाँ पाइला पाइलामा प्रश्न सोध्ने भेटिन्छन्, जवाफ दिनेको दर्शन दुर्लभ छ । भएभरका सबै प्रश्न उद्योगमा व्यस्त छन् । प्रधानमन्त्री पनि प्रश्न सोध्दै छन्, पिउन पनि प्रश्न सोध्दै छन् । समस्याको समाधान गर्छु भनेर आएका बालेन पनि अब प्रश्न सोध्नेहरूको अन्त्यहीन लाइनमा खडा भएका छन् । विश्वविद्यालयका मास्टर पनि प्रश्नमा मस्त छन् । उनका विद्यार्थी पनि त्यही काम गर्दै छन् । रिपोर्टर पनि प्रश्न सोध्दै छन्, प्रधान सम्पादक पनि प्रश्न नै सोध्दै छन् ।
ठूलो आवाज भएका मान्छेहरू दुई काममा बिजी छन – प्रश्न सोध्ने र समस्या देखाउने ।
नेपालमा— जवाफ दिने काम कसको हो ? कि कसैको पनि होइन ? समाधान गर्ने दायित्व कसको हो ? कि कसैको पनि होइन ? हामीले खोजेको समाधान हो कि फगत तमासा ? नितदिन नयाँ तमासा ।
यो तमासा सरकारी अङ्गहरूमा मात्र होइन, जीवनका हर क्षेत्रमा लागु छ । सबैलाई पपुलर हुनु छ । कामै नगरी । सबैलाई सजिलो बाटोको खोजी छ । ��िँड्दै नहिँडी । आज कति धेरै प्रश्न सोध्नेहरू छन् समाजमा । अनि कति थोरै छन् जवाफ दिनेहरू । थोरै पनि नभनौं, छँदै छैनन् भन्दा पनि हुन्छ ।
यस्तो पनि समाज हुन्छ, जहाँ विपक्षभन्दा सत्ताधारी दलका ठुल्ठूला नेता नै हरदिन सरकारलाई प्रेसमार्फत सवाल सोध्छन् । सत्ताधारी दलको नेताले सरकारलाई प्रेसमार्फत सवाल सोध्ने हो ? सत्ताधारी दल वा गठबन्धनका नेताले सरकारलाई आमसभामा गएर प्रश्न सोध्ने हो ?
सत्ताधारी नेता नै त्यस्ता भएपछि सरकारी सेवामा कार्यरत बहालवाला कुनै कर्मचारी वा हिजै मात्र रिटायर्ड सचिव आफ्नै मन्त्रालयलाई फेसबुक, ट्विटरमार्फत सस्तो भाषामा नानाथरी गफ दिन्छ भने त्यसमा आश्चर्य के भयो र ! जैसा गुरु वैसा चेला ।
भारतीय जनता पार्टीका महाचिव वा चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्यल – भारत सरकार वा चीन सरकारलाई प्रेसमार्फत सवाल सोध्ने स्थितिको कल्पना गर्न सक्नुहुन्छ ? यो तमासा त्यहाँ कल्पना पनि गर्न सकिन्न । हाहाहा !
तर नेपालमा यो तमासा नितदिन हुन्छ । यो नठान्नुस् कि, भारत वा चीनमा सत्ताधारी दलका वरिष्ठ नेता वा बहालवाला क���्मचारीले सरकारलाई सवाल सोध्दैनन् । सोध्छन् । तर प्रेसमार्फत, सञ्जालमार्फत, आमसभामार्फत होइन । त्यसको त्यहाँ एउटा प्रक्रिया छ । त्यसको निर्धारित थलो छ । त्यसको एउटा लक्ष्मणरेखा छ ।
नीरजजी, मलाई प्रश्न उठाउने कामको गरिमा र महत्त्व राम्ररी थाहा छ । प्रश्न सोध्ने काम मैले कैयौं वर्ष गरें । प्रश्न सोधेबापत मैले पाएका पुरस्कार, पदक र सम्मानको सङ्ख्या सानो छैन । तर मलाई यो पनि थाहा छ – फजुल प���रश्न सोध्नुभन्दा उचित जवाफ फेला पार्नु धेरै अप्ठ्यारो र श्रेयष्कर कर्म हो ।
फजुलको होहल्ला गरेर अहोरात्र तमासा उत्पादन गर्नुभन्दा समस्या समाधानमा सानै भए पनि सघाउनु श्रेयस्कर जस्तो लाग्छ मलाई । मलाई आफ्नै जीवनमा मिडियामार्फत ठुल्ठुला प्रश्न सोधेको, तमासा देखाएको अनुभव छ । मलाई केही आम मानिसको जीवनमा सुधारको, समाधानको मधुरो दियो बालेको अनुभव पनि छ ।
अब म एउटा नयाँ प्रयास गर्न चाहन्छु । तर म यो काम एक्लै गर्न सक्दिनँ । यसका लागि मलाई समाजको सहयोग चाहिन्छ । यो एक लामो प्रक्रिया हुनेछ । समाजमा व्याप्त मानसिक अन्योल अलिकति भए पनि कम गर्ने अभियानको थालनी गर्ने । यतिका वर्षदेखि नेपाली समाजमा थुप्रिएको र थुपारिएको मानसिक र भावनात्मक फोहोर एकैपल्ट सफा गर्न सकिन्न । यो फोहोरको डङ्गुरका निम्ति राजनीतिक नेतृत्व सबैभन्दा बढी जिम्मेवार छ भन्ने कुरा त बच्चाले पनि भन्न सक्छ । तर के, कुरा त्यसैमा सीमित छ ?
राज्यका बाँकी अङ्गको जिम्मेवारी कति छ ? राज्य राज्य राज्य भनेर रातोदिन अखण्डपुराण नेपाली मिडिया र प्राज्ञिक क्षेत्रले जपी बस्छ । के राज्य भनेको सत्ताधारी सरकार मात्र हो ? सरकार पनि कस्तो, तासको पत्ता फेटिए झैं नितदिन नयाँ ड्रेसमा देखापर्ने मिस लावण्यदेवी झैं !
मलाई लाग्छ, नेपालका भौतिक समस्याको मूल कारण हाम्रो मानसिकतामा लुकेको छ । हामीसँग विश्लेषक धेरै भए, विचारक भएनन् । अलि गहिरो सोच्नेहरू, अलि टाढा देख्नेहरू थोरै भए । हिजोका दिनमा जति योग्यता भएका सञ्चारकर्मी वा बौद्धिक जगत् भए पुग्थ्यो, अब ८० को दशकमा त्योभन्दा बढी क्षमतावान् मान्छे चाहिन्छन् अब ।
आज हाम्रा कैयौं गलत नजरियाका लागि आजको विश्व सञ्चार प्रणाली ��नि केही हदमा जिम्मेवार छ । लामो समयदेखि कार्यरत एक अल्छी सञ्चारकर्मीका नाताल – समाजमा जम्मा भएको यो मानसिक फोहोरको डङ्गुरका लागी – जानेर नजानेर म पनि थोरबहुत जिम्मेवार छु ।
पछिल्ला वर्षमा नेपाली प्रेस र कथित बौद्धिक जगत्मा ‘आलोचकात्मक चेत’का नाममा जे कैयौं आलुचनात्मक चेतका काम अहोरात्र भए, तिनले पनि समाजमा आदर्शहरूको ध्वंस गर्न जानअनजानमा मलजल गरे भन्न सङ्कोच मान्नुपर्दैन ।
आलोचनात्मक चेत एक स्तु्त्य गुण हो । तर यसको असली आलोचनात्मक चेतको निर्माण एक गहन र बहुआयामिक तपस्याबाट निर्माण हुन्छ । न कि आचे आचेको अहोरात्र मिडियाबाजी, बौद्धिकबाजी वा क्षणिक सञ्जालबाजीबाट । कसैमा आलोचनात्मक चेत हुनु र फगत आचे आचे गर्नुबीच महान् अन्तर छ, नीरजजी’ ।
‘सही भन्नुभो, विजयजी । समाजमा अब बिस्तारै यो रियलाइजेसन हुँदै छ । आलोचनात्मक चेतलाई हाम्रा मिडिया र केही सीमित एकेडेमिक्सल�� आचे आचे ठानेकै हुन् । तर भएभरका सबै एकेडेमिक आचे सोचबाट प्रभावित थिएनन्, छैनन् पनि । उनीहरू चुपचाप आफ्नो काम गर्छन्, हल्लाबाजी गर्दैनन् । मिडियाले तिनका क���रालाई पनि स्थान दिनुपर्छ । सिक्काको अर्को पाटो पनि छ भनेर बुझ्नुपर्छ । बुझाउन सक्नुपर्छ, विजयजी ।’
‘म प्रयास गर्नेछु, नीरजजी । आजको नेपालमा ‘आदर्शहरू’ नहुनुका (वा नदेखिनुका) पछाडि विद्यमान आचे आचे वातावरण त एक सानो कारण मात्र हो । मूल कारण त अरू नै छन् । कैयौं आदर्शहरू आजको समाजमा टिक्न नसकेर स्वेच्छाले किनारा लागे । कैयौं आदर्शहरू नियोजित तरिकाले खेदिए, लखेटिए । कैयौं आदर्श चाहिँ आफ्��ै गलत आचरणका कारण ध्वस्त भए । तिनीहरूलाई कसैले मारेको होइन, तिनीहरूलाई कसैले लखेटेको होइन । तिनीहरूले आफैं आफूलाई खसालेका हुन् । लोभलालचमा नफस्नेलाई कसैले लोभ्याउन सक्दैन । सच्चा शाकाहारीलाई कसैले जबर्जस्ती मांसाहार गराउन सक्दैन । त्यसबाहेक आज आदर्शहरू पातलिनुका कैयौं कारण – वैश्ययुगका जटिलतासँग सम्बन्धित छन् । मलाई लाग्दैन, ती कारण फेला पार्न त्यति सजिलो छ । तैपनि प्रयास जरुरी छ �� नयाँ दशकदेखि म सानो प्रयास गर्नेछु ।
मलाई लाग्छ, आजको नेपालको सबैभन्दा ठूलो समस्या कामकाजी विचारको रिक्तता हो । म ‘कामकाजी विचारको रिक्तता’ शब्द प्रयोग गर्दै छु । होइन भने, आजको नेपालमा समाचार र विचारबाहेक के प��� छ र ?
कामकाजी विचार भनेको त्यस्तो विचार हो, जो सामान्य मान्छेको जीवनमा काम लाग्छ । कामकाजी विचार भनेको त्यो हो, जस्ले – सामान्य मान्छेलाई सोच्न सघाउँछ । कामकाजी विचार भनेको त्यस्तो विचार हो, जसले मान्छेको जीवनको क्वालिटीलाई सघाउँछ ।
चिया गफ, कफी कफ, भट्टी गफ वा सञ्जाले सेल्फ राइचियसनेसमा मात्र काम लाग्ने विचारको कुरा गरेको होइन यहाँ । मलाई लाग्छ, आजको सबैभन्दा ठूलो समस्या – जीवनलाई हे��्ने कामकाजी र अन्थेन्टिक दृष्टिकोणको अलमल हो । आजको अलमल – हाम्रो शिक्षा प्रणाली, मिडिया प्रणाली र प्राज्ञिक प्रणालीको असफलता पनि हो ।
हाम्रो शिक्षा जीवनसँग जोडिएको छैन भनेर त जसले पनि भन्न सक्छ । रातोदिन सबैले फलाकेकै पनि छन – हाम्रो शिक्षा जीवनसँग जोडिएको छैन भनेर । तर के हामीले जीवन स्यवम्लाई परिभाषित नगरीकन कस्तो शिक्षा जीवनसँग जोडिएको हुन्छ भन्न सक्छौं ?
के हामी हाम्रो जीवनका यथार्थहरूलाई सानै हदमा भए पनि परिभाषित गर्ने क्षमता राख्छौं ? जब हामीलाई जीवनकै बारे केही थाहा छैन भने, हामीलाई जीवनोपयोगी शिक्षाबारे कसरी थाहा हुन सक्छ ? जग नहालीकन बनाएको घर त्यस्तै हुन्छ, जस्तो आजको हाम्रो समाज छ ।
म अलिकति नियमित काम गर्ने उद्देश्यल – नयाँ र पुरानो पुस्ता मिसिएको एक ‘टिम’ बनाउन चाहन्छु, जसले नेपाली समाज, राजनीति र अर्थव्यवस्थाका विभिन्न आयामलाई एक मौलिक एवम् ताजा नजरबाट हेर्ने क्षमता राखोस् ।
एक यस्तो प्लेटफर्म – जहाँ प्रश्न त सोधिन्छ । तर फगत प्रश्नका लागि प्रश्न सोधिँदैन । जहाँ प्रश्न मात्र होइन, समाधानका ‘सम्भावना र सीमितता’बारे पनि स्पष्ट चर्चा गरिनेछ । प्रश्न सोध्ने फालाफाल भए, समाधानका कामकाजी उपाय बताउने शून्यप्रायः भए । प्रश्न सोध्ने फ���लाफाल भए तर हाम्रो देश, समाज र हाम्रो आफ्नै निजी क्षमताको सीमितता (Limitations) महसुस गराउने शून्यप्रायः भए । सम्भावना, समाधान र सीमितताको बोध नभएको समाज कहिल्यै अगाडि बढन सक्दैन ।
कैयौं प्रश्न आजको नेपालमा कपटपूर्वक भनौं या अज्ञानतावश लुकाइएका छन् । जस्तै, आदर्शहरू मरेको वा मारिएको समाज अगाडि कहिल्यै बढ्न सक्छ र ? के आदर्श स्वतः उत्पन्न हुन्छ ? कि त्यसलाई हुर्काउनुपर्छ ?
जब जब म सडकमा कुनै यु��ा देख्छु, भेट्छु वा जब उसले मलाई आफ्नो र देशको भविष्यलाई लिएर प्रश्न गर्छ – म अकमकिन्छु । मेरो बोल्ती बन्द हुन्छ । सतही जवाफ म उसलाई दिन ��ाहन्नँ । गहिरो जवाफका निम्ति त्यो स्थान उपयुक्त लाग्दैन ।
जता टेक्यो उतै खाल्डो भएको देशमा – चर्को स्वरमा समस्या देखाउन जसले पनि सक्छ । समस्याको जगमा टेकेर – ठूलो स्वरमा कुखुरी काँ गरेबापत ठूला नेता वा ठूला मिडियावाल वा छापे बौद्धिक बन्ने चलन भएको देशमा यो कुनै आश्चर्यको कुरा होइन । तर समाधान गर्ने औकात राख्नु नितान्त भिन्न कुरा हो ।
के हामी शान्तभावले, एकअर्काका कमीकमजोरीप्रति अलिकति करूणा राखेर, समानुभूति राखेर छलफल गर्ने अनि समाधान खोज्ने, सीमितता महसुस गर्ने औकात राख्छौं ? प्रश्न मात्र होइन, हाम्रा सीमितताबारे खुला छलफल होस् र कामकाजी समाधान खोज्ने प्रयास होस् । कागजी वा सञ्जाले समाधान होइन, कामकाजी समाधानका उपाय खोजिऊन् ।
मेरो पत्रकारिताको सुरुवाती चरणमा मैले धेरै प्रश्न सोधें । पछिल्ला केही वर्षमा मैले किनारमा चुपचाप बसेर हेरें । अब जीवनको गोधूलि बेलामा, घाम डुब्न थालेका बखत म एक नयाँ ‘इनिङ’ खेल्न चाहन्छु । छापामा, टेलिभिजनमा, इन्टरनेटमा । मैले अघि नै भनें, म एउटा सानो टिम बनाउन चाहन्छु । नेपाली मिडियामा एक नयाँ मोडल सुरुवात गर्न चाहन्छु, जहाँ दर्शक, पाठक र शुभचिन्तकको निःसर्त आर्थिक सहयोगले काम हुन्छ ।
त्यसैले पाठक, दर्शक, श्रोता र शुभचिन्तकहरूको आर्थिक सहयोग चाहिएको छ । तपाईंहरू जो जहाँ भए पनि हाम्रो यो इच्छामा सहयोग गर्न चाहनुहुन्छ भने हाम्रो बैङक खातामा आफूले खुसीसाथ सक्ने रकम पठाउनुहोला । हामी समाजमा ‘वैचारिक स्पष्टता’को एक नयाँ चरण स्थापित गर्ने सत्प्रयास गर्नेछौं – सञ्चार प्रणालीका विभिन्न माध्यमहरूमा ।
आज, जानुभन्दा पहिला फेरि एक पटक त्यही सवाल दोहोर्याउन चाहन्छ – आदर्शहरू मरेको वा मारिएको वा जनताले आदर्श ठानेकाहरू नै आफ्नो मर्यादामा टिक्नै नसक्ने देश अगाडि बढ्न सक्छ र ? सोच्नुस् है ।
अनि सानो सहयोग गर्न नभुल्नुहोला । सत्यले आफैं जित्दैन, त्यसलाई जिताउनुपर्छ । सिर्जनात्मकता र सकारात्मकता आफैं फैलिँदैन, त��यसलाई फैलिन सहयोग गर्नुपर्छ । हामी नेपालमा दर्शक, श्रोता र पाठकको सहयोगले चल्ने नयाँ मिडिया मोडेलको थालनी गर्न चाहन्छौं । हाम्रा लागि नयाँ भए पनि दुनियाका कैयौं देशमा यो वर्षौंदेखि चलेक��� टेस्टेड मोडल हो । हामीलाई स्वेच्छाले निःसर्त सानो सहयोग गर्न चाहनुहुन्छ भने, सानिमा बैंकमा रहेको हाम्रो खाताको क्युआर कोड तल राखिएको छ ।
धन्यवाद !
यो पोडकाष्टको भिडियो हेर्न लिङ्कः https://t.co/1BednY5RYO
पर्यटनमन्त्री जीवनराम 'श्रेष्ठ'लाई बायोमेट्रिक गर्न जाँदा लाइनमा बस्नुस् भन्ने अपराध गरेको निहुँमा नेपाल प्रहरीद्वारा शेरजंग 'कुँवर' लाई पक्राउ गरि अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी।
धिक्कार छ।
बालेन मेयर साब,
मैले १३१ फारमेसीमा Research गर्दा ८३ ठाउँमा लाइसेन्सड फारमेसिस्ट नबसेर आफन्तहरु, साथीभाइलाई सिकाएर राखेको देखियो I जनताको स्वास्थ्यमा गम्भीर खेलवाड भाको कसैलाई मतलब छैन I तपाईंले food inspector राखे जस्तै यसको लागि पनि inspector को व्यवस्था गर्नहुन अनुरोध गर्दछु I
हाम्रो प्रमुख तीन एजेन्डाहरु यहां छन् । हामीले १६० बर्ष सोच्दा साथिहरुले ५ मिनेट पनि नसोचिकन धारणा राख्नु भएको छ।अलि तार्किक भइदिनुभए, हामी सबैलाइ सजिलो हुनेथियो । विस्तृत योजना QR कोडमा छ, स्क्यान गर्नुहोला र हेर्नुहोला । सहयोगको लागि https://t.co/G6YorSXT6z ���ा जानुहोला।