कल्पना कसरी गरौँ म तिमी बिना को जिन्दगी...?
जब हरेक बिहान तिम्रो सम्झनाले आँखा खुल्छ, जब हरेक साँझ तिम्रै यादले मन भिजाउँछ, त्यस्तो अवस्थामा तिमी बिना को जिन्दगी कल्पना गर्नु भनेको सास चलिरहे पनि आत्मा बिना बाँच्नु जस्तै हो।
तिमी केवल मेरो चाहना होइनौ, मेरो बानी, मेरो विश्वास र मेरो हरेक सपनाको कारण हौ। त्यसैले त कहिलेकाहीँ लाग्छ, तिमी बिना को जिन्दगीको कल्पना गर्नुभन्दा तिमीसँग बिताएका यादहरूमा हराइरहनु धेरै सजिलो छ...!! 🖤
#म_अनि_मेरो_भावना
के होला तिम्रो त्यो घमण्डको,
यदि मैँले बोलाउनै छाडिदिएँ भने...?
जुन आवाज सुन्ने बानी परेको छ,
त्यो एकाएक मौन भयो भने...
जुन उपस्थिति लाई सामान्य ठानेकी छौ,
त्यो सधैंका लागि टाढा भयो भने...
सायद त्यस दिन थाहा हुनेछ,
म केवल विकल्प थिइनँ,
कसैको दिनको सुरुवात र
अन्त्य हुने एउटा कारण पनि थिएँ...!!
#म_अनि_मेरो_भावना
यो नयाँ वर्ष हो ।
शुभकामना -
यही वर्ष हो, काफल फलेको पनि ।
यही वर्ष, काफल पाकेको पनि ।
यो लेख्न नचाहने मन हो
यो बुढो घर हो,
यो मरेको रहर हो ।
यहाँ सबैथोक, किन धन हो ?
किन खाली-खाली आँगन हो ?
यो काफल मङ्गिएको सिजन हो ।
यो कोइली हराएको चैत हो ।
यो तातो मरेको जेठ हो ।
यो असत्यको उत्सर्ग हो ।
यो शब्द डराएको वर्ष हो ।
यहीँ वर्ष हो, कोइली विरक्तिएको पनि ।
"को हो ? को हो ?" भन्दै नजिस्किएको पनि ।
यो -
घरकी लक्ष्मी प्रदेश लागेको वर्ष हो ।
छोराले नागरिकतामा दिन बढाएको वर्ष हो ।
बिहान तारा देखिनु अघिनै बस्ती चलमलाएको वर्ष हो ।
यो पैतल घटेको वर्ष हो ।
यो ढुकढुकी बढेको वर्ष हो ।
यो सत्य हराएको वर्ष हो ।
यो माटो डराएको वर्ष हो ।
यो काँक्रो छिपिएको वर्ष हो ।
यो गाउँ रित्तिएको वर्ष हो ।
यो आँप बोटैमा पाकेर झरेको वर्ष हो ।
यो मन मरेको वर्ष हो ।
यो डर निदाएको रात हो ।
यो विष ढोल्ने बिहान हो ।
यो तमो जागेको काल हो ।
यो उसैको जञ्जाल हो ।
तमो छ समाजसेवी
व्यापारी छ तमो ।
तमो छ कार्यकारी,
बर्मचारी तमो ।
यहाँ छ तमो किसान
बनेको छ तमो भगवान
तमो जप्छ राम-राम
तमो गर्छ उत्पात यहाँ ?
तमो गर्छ दान यहाँ ।
तमो सुनाउँछ पुराण यहाँ ।
सुन - सुन - सुन।
दिनमै छ सुनसान यहाँ,
तमो को चल्छ विज्ञान यहाँ ।
यो सबै तमो को आदर्श हो ।
समयको अगाडि एउटा सर्त हो ।
यो रजो को बोली हराएको वर्ष हो ।
यो सतो डराएको वर्ष हो ।
यो तमो घर आएको वर्ष हो ।
यो सत्तरी वर्षका साईला काका बम्बै गएको वर्ष हो ।
यो गोर्खालीले खुकुरी छाडेर भागेको वर्ष हो ।
यो तमो हाँसेको वर्ष हो ।
यो तमो नाचेको वर्ष हो ।
यो यस्तै-यस्तै वर्ष हो ।
यो वेदमाथि लबेद हाबी भएको पल हो ।
यो कृष्ण हारेको क्षण हो ।
यो धृतराष्ट्रले जितेको समय हो ।
यो शकुनि घर पसेको साईत हो ।
यो विदुर डराएको लग्न हो ।
यो चुक पोखिएको गगन हो ।
यो तिम्रो मन हो ।
यो मेरो मन हो ।
यो नयाँ नज़िर स्थापन भएको दिन हो ।
यो इतिहासको उपहास हुने बेला हो ।
यो नकाबधारीको वर्ष हो ।
यो कानुनले आँखा देख्छ भन्ने प्रमाणित भएको घडी हो ।
किनभने यो कानुनको तराजु पसाङ्गिएको वर्ष हो ।
यो बुवाको ढाड बाँङ्गिएको वर्ष हो ।
यो सकिने लय हो ।
यो भयको पनि भय हो ।
यो सतोको बिलय हो ।
यो तिम्रो समय हो, यो मेरो समय हो ।
यो हामी लुटिएको समय हो ।
यो हामी लखेटिने वर्ष हो ।
यो हामी बेचिने वर्ष हो ।
यो भुईँचालोको बाटो हेर्ने समय हो ।
यो पहिरोको बाटो हेर्ने बेला हो ।
यो हिउँ पर्ने आकाश हो ।
यो झिलिमिली हेर्ने इच्छा हो ।
यो निद नपर्ने समय हो ।
यो भिषा लागेको वर्ष हो ।
यो गाउँ छोड्ने वर्ष हो ।
यो बोली लर्बराएको वर्ष हो ।
यो शब्द हराएको वर्ष हो ।
यो मन डराएको वर्ष हो ।
यो साथी छुटिएको वर्ष हो ।
यो बचपन मेटिएको बिहान हो ।
यो जिम्मेवारी भेटिएको दिन हो ।
यो सपना समेटिएको साँझ हो ।
यो प्याख लागेको बिहान हो ।
यो कान बुझिएको वर्ष हो ।
यो मन भरिएको वर्ष हो ।
यो शब्द हराएको वर्ष हो ।
यो प्रेम डराएको वर्ष हो ।
यो फूल मुरझाएको बिहान हो ।
यो बच्चा टोलाएको दिन हो ।
यो घाम नडुबेको साँझ हो ।
यो जून लुकेको रात हो ।
यो सँगै खाएको थप एक गास हो ।
यो चल्लाले चारो खोजेको वर्ष हो ।
यो छोराले आशीर्वाद मागेको वर्ष हो ।
यो छोरीले आँखामै आँसु राखेको वर्ष हो ।
यो भैंसी बेचेर पनि दूध खाएको वर्ष हो ।
यो कलेजि टुक्रो छुटिएको बेला हो ।
यो आँसु आँखामा रोक्न नसकेको वर्ष हो ।
यो रहर मरेको वर्ष हो ।
यो डर भरिएको वर्ष हो ।
यो नजर झुकेको वर्ष हो ।
यो बाँच्न भुलेको वर्ष हो ।
यो हाँस्न भुलेको वर्ष हो ।
यो धनको वर्ष हो ।
यो नयाँ वर्ष हो ।
शुभकामना - यो पुरानै वर्ष हो ।
-अतल
——-विश्वास___
देउरालीमा सिन्दुरले रातै पोतिएर
फूलपातीले छ्याप्पै छोपिएर
एउटा ढुङ्गा देउता भएर बसेको छ।
देउता ढुङ्गा पनि हुन सक्छ
ढुङ्गा देउता पनि हुन सक्छ
मात्र विश्वासमा।
त्यही विश्वासमा
निर्बलहरू बल माग्दै ढुङ्गासामु माथा टेक्छन्
गरिबहरू धन माग्दै ऋण गरी बोका काट्छन्
दुःखीहरू सुख माग्दै रुइकराइ भाकल गर्छन्।
विश्वास यति घाती छ कि!
नाथे एउटा ढुङ्गाले पनि
यसरी मान्छेको शोषण गर्छ।
कवि: उपेन्द्र सुब्बा
प्रेमसँग हारे
म प्रेमसँग हारेँ,
चुपचाप पूरै हारेँ।
तिम्रो मुस्कानले जित्यो,
मेरो सारा संसार हरायो।
जित्न खोजेँ तिमीलाई,
तर आफैं हराएँ।
अब रात लामो, मन खाली,
आँसुमा बाँचिरहेछु म तिमीलाई माया गर्दै।
ए प्रेम, तिमी जित्यौ,
म सधैंका लागि हारेँ।
#विनोदविनोदी
याद त्यो होइन जुन एक्लै हुँदा आउँछ,
याद त त्यो हो,
जुन भीडभाडको बीचमा अचानक आउँछ,
जहाँ हाँसोको आवाजहरू बीच पनि
मन चुपचाप रोइरहेको हुन्छ।
महफिलमा बसेर पनि
जब आत्माले एक्लो महसुस गर्छ,
त्यो याद मात्र होइन,
त्यो त अधुरो सम्बन्धको गहिरो चोट हो,
जसले भीडमा पनि
एकान्तको पीडा महसुस गराइरहन्छ।
#म_अनि_मेरो_भावना
तिम्रो मनको सिमानामा
रेखाहरू त कसैले कोरेका थिए होलान्,
तर म त त्यो रेखा नदेख्ने मान्छे,
चुपचाप छिरेर बसेँ,
सुकुम्बासी बनेर।
न कुनै ढोका ढकढक्याएँ,
न अनुमति नै मागें,
बस तिम्रो एउटा मुस्कानले
मलाई त्यहीँ बस्न बाध्य बनायो।
म अवैध छु तिम्रो मनमा,
तर माया मेरो अपराध होइन,
यो त त्यो भावना हो
जुन रोक्न खोज्दा झन् गहिरो हुन्छ।
तिमीले कहिल्यै खोजिनौ मलाई,
तर म त तिमी भित्रै हराउँदै गएँ,
जसरी सास लिँदा
हावा देखिँदैन, तर महसुस हुन्छ।
यदि कहिल्यै निकाल्न खोज्यौ भने पनि,
म सम्झनाको रूपमा फर्किरहनेछु,
किनकि सुकुम्बासी त हटाइन्छ,
तर माया कहिल्यै मेटिँदैन।
म त मात्र यति चाहन्छु,
तिम्रो मनको कुनै कुनामा
अवैध भएरै सही,
तर सधैं बाँचिरहन पाउँ।
#म_अनि_मेरो_भावना
फर्केर आउनेछु अर्को जन्ममा,
यो जन्ममा त मैँले
आफूलाई नै जित्न सकिन,
तिमीलाई जित्ने कुरा त टाढै रह्यो…
सायद मेरो कर्म अधुरो थियो,
सायद मेरो माया साँचो भएर पनि
भाग्य सँग हार खायो…
तर एउटा विश्वास छ,
अर्को जन्ममा म
आफैलाई यति योग्य बनाउनेछु,
कि तिमीलाई पाउन
कुनै प्रार्थना गर्न नपरोस्…
त्यो जन्ममा,
तिमी मेरो हुनेछौ,
कर्मले होइन,
मेरो योग्यताले… ❤️
#म_अनि_मेरो_भावना
बुबा हुँदा …………….✍️
जीवन सजिलो लाग्छ
हाम्रो काँधमा भएको भारी
हामीले महसुस नै गर्दैनौं
किनकि त्यो भार
बुबाको हातले समातेको हुन्छ
हामी निश्चिन्त हिँड्छौं
सपना देख्छौं
र हाँस्न सिक्छौं
बुबा नहुँदा ………….
त्यही जीवन अचानक भारी बन्छ
सानो झोला बोकेको बच्चा
एकैछिनमा
जिम्मेवारीको डोको बोकेको मान्छे बन्छ
जहाँ पहिले सहारा थियो
त्यहाँ अब खालीपन हुन्छ
र जहाँ हाँसो थियो
त्यहाँ संघर्षको सास मात्रै बाँकी रहन्छ
यही हो जिन्दगीको यथार्थ
बुबाको छायाँ हुँदा
हामी बच्चा हुन्छौं
छायाँ हराउँदा
हामी अचानक ठूलो हुन बाध्य हुन्छौं✍️
अभि सुवेदी
;
लाग्छ आजकल म
सधैंजसो एउटा छायाँ बोकेर हिंड्छु
अरूका मनहरू कालो बादलजस्तो
पहाडको अर्न्तर्तरङ्ग बुझन
बिस्तारै वरिपरि घुमेजस्तै
मेरो वरिपरि घुम्छन्
अनेकौं आकृतिहरूमा
आफ्नै मन बोकेर हिंड्छु
अरूका मनका भारीले थिचेर
आजकल मलाई मेरो अस्मिताभन्दा
अरू कसैको जीवन बाँचेजस्तो लाग्न थालेको छ
भन्छन्
धेरै जनाले तिमीमाथि आँखा लगाएका छन् भने
तिमी अपरिचित आँखाहरूका बाढीमा बगेका हुन्छौ
भन्छन्
सबैका मनहरू लिएर हिंड्छौ भने
तिमी समयका पुराना बस्ती खोजेर
तिनीहरूलाई बिसाउने ठाउँ हेरिरहेका हुन्छौं
इतिहास यसरी नै बनिएको हो भन्छन्
मनहरूका बाढीमा कसैलाई धकेलिदिएर
कसैले चम्किला आँखाले सीधा हेरेर
एउटा पीडा देखियो भने
कहीं केही बलियो रचना भत्किन्छ
कोही दुःखले मनभित्रको खण्डहर देखाएर उठ्यो भने
त्रि्रो मनभरि नै भैंचालो जान्छ
लाग्छ त्यसैले
मान्छेको समय कुइरोजस्तै
सबैको मन छोएर उडेको हुन्छ
कहिलेकहीं लाग्छ
हिजोको जस्तो बिहानीर्
दर्जनौं कुखुराहरू बासे पनि खुल्दैन
लाग्छ हिजोको जस्तो साँझ
हजार चराहरूले झुम्मिएर सहगान गरे पनि
आकाशभरि आरेखित हुँदैन
त्यसैले हिजोआज
आफ्नै स-साना बिहानीहरू
अक्षरमा कोरेर
कागजको मैदानभरि छरिदिन्छु
साँझहरू समातेर
कविताका क्षितिजभरि टाँगिदिन्छु
जिन्दगी भनेको
पहाडमाथि चढिसकेर
कठै फेदीमा सम्झनाहरू छोडिए भन्ने
एउटा लामो सुस्केरा मात्र रहेछ !
शहरमा पसेको यति धेरै भयो
यहाँ अनेकौं समय
पुराना घर र गल्लीहरू
अनि देवालय र गुम्बाहरूका खण्डहरमा
लडेर घाइतेजस्तै छट्पटाएको देखेको छु
अनि
मन र चाहनाहरूका पनि
खण्डहर हुँदारहेछन्
जहाँ मान्छे
आफ्नै शहीद दिवस एकल गायन गरेर मनाउँदोरहेछ
एक्लै उद्घोषण गर्दोरहेछ
अनि हतियारहरूमा
त्यस कथालाई लुकाउँदो रहेछ
यहाँ हिजोआज
यात्राहरूका गन्तव्य छैनन्
कोही बिपनाको बाटो गरेर
घोर सपनाभित्र पस्छ
कोही काँधमा उज्यालो बोकेर
अँध्यारो खोज्दै हिंड्छ
सपनाहरू भत्किन्छन्
बिपनाहरू क्षतविक्षत हुन्छन्
छेवैबाट उडेका गोलीको आवाजमा
एउटा किशोर आफूले घरमा छोडेको सङ्गीत सुन्छ
झुट खेल्नेहरूका अभिनय
साँचो खेल भएका छन्
तिनलाई हेरेर
म आफैं भीड किनारामा
मन नपराए पनि
बा ! बा ! गर्दै ताली बजाएर उभिएको हुन्छु
समयको कानमा
मेरी ताली सुनिंदैन
मेरो र्समर्थन र विरोधले
कुनै पनि खेलको हारजीत हुँदैन
आफ्ना सबै कथा कोरेर
एउटा रङ्गमञ्चमा उभ्याउँछु
कथा खोजेर आउनेलाई पर्खेर
कपडामा तन्त्र आलिङ्गनमा बाँधिएका
आकाश भैरवका नाच फैलाएर कसैलाई पर्खिएर बस्छु
संस्कृति भनेको
कहिले लाग्छ
मेरै सपनाको खेती हो कि
आफूले देखेको समयमा
केही बनाउने चाहनाले
आफैंले टाँगेको सानो आकाश हो कि -
संस्कृति
म हिजोआज
अघि नै छोडेका कुनाकानी
अहिले हिंडेका यी गोरेटाहरू
सबैलाई एउटै कुनै आकार दिन खोजिरहेको हुन्छु
मलाई आजकल
अरूको मनका खण्डहरबाट
केही रचना उठाउने चाहनाले पिरोल्छ
हिजोआज म
आफ्नो आकाश अरूलाई दिएर
कहीं केही बनियोस् भन्ने चाहनाले पिरोलिएको छु
तर लाग्छ
दौडभित्र कहीं चौतारी छन्
कहीं आफ्नै यात्रामा
अरूका आँखाहरूसँगै कुद्छन्
मलाई आजकल
कहीं चढ्दा
उचाइले पिरोल्दैन
झर्दा फेदीको चिन्ताले छुँदैन
आजकल मलाई
थकित आकाशले र्स्पर्श गर्दा
कहीं जानै पर्ने चिन्ताको उज्यालोले पनि लखेट्दैन
आजकल मलाई !
किशोर भएपछि
एउटिको प्रेममा परेपछि
एकदिन सोचें
अब विश्वविख्यात प्रेमकथा लेख्छु
लेखेको आधा भएपछि
एकदिन प्रेम टुट्यो
कथा अधुरै रह्यो ।
विछोडको पीडाले पोलेपछि
आँसुको मसीले संसार रुवाउने कथा लेख्छु भनें
र लेख्न थालें
फेरि आधा भएपछि
एकदिन अर्किसँग प्रेम बस्यो
विवाह भयो
कथा अधुरै रह्यो ।
विवाहपछि सन्तान भए
सन्तान भएपछि
अब पारिवारिक सुखको कथा लेख्छु भनें
र लेख्न बसें
कथा आधा भएपछि
सन्तान हुर्किए
मलाई छोडी आफ्नै संसार गए
फेरि पनि
कथा अधुरै रह्यो ।
साथमा अब
मात्र श्रीमती थिई
अनि लोग्नेस्वास्नीको कथा लेख्छु भनें
र लेख्न थाल्दै गर्दा
विगत अनि के के सम्झेर
ऊ कचकचाउन थाली
तँसँग बस्न सक्दिनँ भन्दै
खै कता हो कता हिँडी
फेरि पनि
कथा अधुरै रह्यो ।
त्यसपछि
सँगै खेली हुर्केका साथी सम्झें
भेटेर सुख दुःख कहें
उनीहरूले
चिन्ता नलिएस् भनी
थरी थरीका मदिरालय लगे
पिउँदै गएपछि
एकदिन म रित्तिएँ
त्यसपछि
साथीहरूको उक्साहट अनि
विश्वासघातको कथा लेख्न थालें
तर आधा भएपछि
एकदिन बिरामी परें
कथा अधुरै रह्यो ।
बिरामीले थलिँदै गएपछि
माया गर्नेहरू
घृणा गर्नेहरू
सँगै खेलेहुर्केकाहरू
र अरू पनि थुप्रै हरूले
यो स्वार्थी थियो
घमण्डी थियो
कप्टी थियो
खुब यस्तो हुँ भन्थ्यो
आदर्शको कुरा छाँट्थ्यो
यस्तै यस्तै अनेक भनेको सुनेपछि
मान्छेको चरित्रको कथा लेख्न बसें
तर
लेख्नु नलेख्नु
पढ्नु नपढ्नु
उस्ता उस्तै रहेछन् भन्ठानी
कापी र कलामलाई कतै टाढा हुर्याएँ ।
कापी कतै हराएपछि
हृदयले हृदयकै पानामा यस्तो लेख्यो-
मान्छे यस्तो प्राणी हो
जो
दुःखको कथा पढुन्जेल
हृदय रसाएको नाटक गर्छ
पुण्यको कथा पढुन्जेल
अब म पनि सहयोग गर्छु भन्छ
युद्ध र विनासको कथा पढुन्जेल शान्तिको कामना गर्छ
पढुन्जेल
लेखुन्जेल
खाउँन्जेल
यस्तै यस्तै अनेक गरुन्जेल
ऊ त्यही भएको या हुने नाटक गर्छ
त्यसबाट बाहिर निस्केपछि
आफूदेखि सबैसँग नौलो अनि अनौठो हुन्छ
अनि भन्छ
यार मलाई कसैले बुझेनन् ।
त्यसपछि
ती तमाम धर्मग्रन्थ
मठमन्दिर
साहित्य
र तिनका सर्जकप्रति
दया लागेर आयो ।
कठै मान्छे
जो
बहसमा एक ज्यान र एक जुनिको कुरा गर्छ
तर व्यवहारमा कति ज्यान र कति जुनी
थाहा नपाएरै ऊ बाँच्छ ।
#मिलन_कार्की
"प्रेम"
थाहा छ,
तिमीले आज पनि
यसलाई सम्झिनुहुन्न भन्दै
धेरै पटक सम्झिएकी छौ
*
यसलाई नबोलेरै तड्पाउनुपर्छ भन्दै
आफैं तड्पिरहेकी छौ
छुकछुके रेलको धुवाँजस्तो
पुतुतु आएको छ मेरो याद तिमीलाई
सदाभन्दा दोब्बर !
बङ्गालको खाडीबाट चलेको सुनामी भन्दा
अझै बेसी आएको छ
तिम्रो मनमा मेरो रिक्तताको भूमरी !
कति समय भयो यो सँग नबोलेको?
औंला भाँचिरहेकी छौ तिमी
यति दिन अझै बोल्दिन
आफैंसँग गरिरहेकी छौ अडान !
तर,
दिदीको बिहेमा
गोडा धून भोको बसेको भाइले
लुकेर खाएझैं अचार र सेलरोटी
सेकेन्डभरमै,
तोडिरहेकी छौ- आफैसँग आफ्नो अडान !
ऐजन ऐजन छ मेरो पनि हालत यता !
रिसै गरेर सही-
भुल्न नसक्नु भनेको प्रेम हुनु हो !
ओ महारानी !
बोली सकिएपछि
बोल्छु भनेर फेरि पाइनेछैन
ओठ रहुन्जेल त हो नि हाँस्न पाउने पनि
अलिकति खहरे बढेको मात्र हो
अविश्वासका
केही दाह्रे ढुंगाहरु थपिएका मात्र हुन्
केही बिग्रेको छैन
आफ्नो नामको खेत, आफ्नै नाममा छ
गल र गैंची हामीसँगै छ
आऊ बिर्सेर सबै सबै,
अलिकति आँठा मिलाउँ-भुलहरुका
अलिकति गरा सम्याउँ-घमन्डका
अलिकति, आलि ताछौं-अहंकारका
एक अर्काको नशामा बगिरहेको
संङ्लो आत्मीयताको कुलो ल्याएर भिजाउँ
मनको जम्मै गैरीखेत
र, काढेर, मनकै गराबाट
रहरका मुठी चारेक् बियाड
आऊ रोपौं, प्रेमको रोपो !
कहिल्यै सुकेर जाँदैन-
मनमा मनले रोपेको प्रेम !
र, प्रेम हरियो रहेसम्म,
सुक्दैन जिन्दगी पनि !
दिनेशराज पुरी
घरकुटी
_____________________________
अझै जीवित छ
मेरो स्मृतिमा छपन्न साल
जहाँ समयका पाटाहरू
इतिहासको पुरानो पाण्डुलिपि झैँ पहेँला थिए।
पारी घरकी च्याखुरी
जसका आँखामा
बनमाराको फूल फुलिरहेको थियो,
ओठहरूमा गहुँका बाला मुस्कुराउँथे,
हामी चोर-पुलिस खेल्थ्यौँ,
मानौँ हामी नै यो ब्रह्माण्डका एक मात्र प्रेम हौँ।
तर अचानक,
सुनार काकी
आइपुग्थिन्, आकाशबाट झम्टिने भोको चिल जसरी।
उनले च्याखुरीलाई मेरो हातबाट त्यसरी खोस्थिन्,
जसरी निष्ठुरी तुवालोले घामको पहिलो किरणलाई लुकाउँछ।
उनको चित्कारमा एउटा कालो गर्जन हुन्थ्यो:
"वडि आ, त्यो बाउनको छोरो हो।"
त्यसपछि हामी च्यातिएका नयाँ पाना झैँ हुन्थ्यौँ।
च्याखुरीका आँसुका ढिक्काहरू मेरा गालामा खस्थे,
मानौँ आकाशबाट नुनिलो वर्षा भइरहेको छ,
जसले मेरो बाल्यकाललाई रुझाउँथ्यो।
म दौडेर घर पुग्थेँ,
बालाई सोध्थेँ—
"बा, किन काकीले हाम्रो बीचमा यो अदृश्य हिमाल ठड्याउँछिन्?
हामी त केवल माटोका घर बनाइरहेका थियौँ!"
तर मेरा बा,
मेरो कुरा नटुङ्गिदै
शरीरबाट जनै झिक्दै, मनैबाट घन्टी बजाउँदै भन्थे—
"महाराज! प्रभु, यै बालखले अन्जानमै गर्यो गल्ती
माफ गरिदिया!"
बाका हातका औँलाहरू मेरो दुधिला गालाका छालामा कुदिन्थे
र म
बन्द कोठाभित्र हुलिन्थेँ।
तर मेरो सपना भने
त्यही सिमानाहीन आकाशमा उडिरहन्थ्यो।
हामी त एउटै खेतका दुई जातका धान थियौँ,
जसलाई माटोले कहिल्यै सोधेन—
'तिम्रो जात के हो?'
जसलाई हावाले कहिल्यै सोधेन—
'म तिमीलाई मात्र छुन्छु!'
हाम्रो रङ्गमञ्च फेरि त्यही घरकुटी बन्थ्यो,
जहाँ हामी मन्दिर र गुम्बा होइन, बालुवाका सपना बनाउँथ्यौँ।
तर फेरि काकी आउँथिन्,
पिट्दै, लतार्दै च्याखुरीलाई लैजान्थिन्।
हामी दुई फरक आकाशका तारा झैँ देखिन्थ्यौँ,
जुन कहिल्यै मिल्न नसक्ने समानान्तर रेखाहरू थिए—
जसको बीचमा जातको एउटा ठूलो क्रसर रेखा थियो।
कहिलेकाहीँ हामी भेटिन्थ्यौँ,
लम्ब रेखा झैँ,
मात्र एक सेकेन्डका लागि एउटा बिन्दुमा,
तर त्यो भेट एउटा अफसोस हुन्थ्यो।
कोण बन्नुअघि नै छुटी जान्थ्यौँ हामी
समानान्तर रेखा बनेर,
मानौँ हाम्रो नियति नै
कहिल्यै नजोडिनु थियो।
समयको नदीले हाम्रो बाल्यकाललाई बगाएर लग्यो।
उनी दुलही बनिन्— पराया घरको।
म दुलहा बने — पराया घरको।
समय बित्यो,
जसरी ओखलमा कुटिएको सिरौलापछि
बाँकी रहन्छ केवल निथ्रिएको धुलो— त्यस्तै।
तर लाग्थ्यो उनी गएकी छैनन्,
उनी मेरो छाया बनेर मभित्रै बाँचिरहेकी छिन्।
घाम लाग्दा उनी अगाडि हुन्छिन्,
साँझ पर्दा उनी पछाडि।
उनी मेरो रगतको बहावमा छिन्,
मेरो मौनताको स्वरमा छिन्।
तर आज,
मेरो मस्तिष्कको एउटा कुनामा बिजुली चम्कन्छ,
एउटा प्रवेग पैदा हुन्छ र म आफैँलाई सोध्छु—
त्यो साल, हामी घरकुटी खेलिरहँदा
हामीलाई छुट्ट्याउने ती मान्छे—
काकी या बा हुन्?
वा
त्यो समाजको सोच—
'बाहुन'?
Dostaj Mahesh
मृत आत्माको मतदान
विभिन्न चिहानबाट उठेका
पहिल्यै मृत्यु दर्ता भइसकेका नामहरू
अदृश्य लस्कर बनेर
मतपेटिकातिर झर्छन्।
किनकि उनीहरू मरेका होइनन् यहाँ,
मतदाता नामावलीमा अझै जीवित छन्।
शरीर खरानी भए पनि
नामको स्याही मेटिएको छैन।
त्यही स्याहीको छायाँ
सन्ततिको हात समातेर
मतपत्रमा टाँसिन्छ।
अचम्म नमाने हुन्छ,
विदेशको मरुभूमिमा पसिना सुकाउँदै बसेका,
र पासपोर्टमा प्रस्थानको छाप नलागेकाहरू पनि
यतै कतैबाट मतदान गर्छन्।
नियुक्त कर्मचारी अनुपस्थित हुँदा
उनकै नाममा अर्को प्रतिनिधि
कर्तव्य निभाउँछ,
मौनताको हस्ताक्षरले।
धमिलिएका आँखाहरू
चुनाव चिह्न छुट्याउन नसके पनि
सन्तानको औंलाले बाटो देखाउँछ,
आस्थाको नाममा थिचिन्छ मत।
तर रातको अँध्यारो
मतपत्रको भाग्य फेरिदिन्छ,
रात आफैँ निर्णायक बन्छ।
जीउँदा मुर्दा र मृत आत्माको
यो अंकगणितबाट
एक “जीउँदो मुर्दा” प्रतिनिधि जन्मिन्छ।
उही प्रतिनिधि
रोस्ट्रममा उभिएर
मृत नीति र पुराना कार्यक्रमको
शोकसभा गर्छ,
सदनका मुर्दा सदस्यहरू
परर्र ताली बजाउँछन्,
दुई तिहाइ बहुमतले
फेरि अर्को मृत्यु पारित हुन्छ।
यसरी,
कागजमा जीवित, व्यवहारमा मृत
निर्णयहरूबाटहामीले सुशासन खोज्छौं,
समृद्धिको सपना देख्छौं,
प्रविधिमैत्री कानूनको आस राख्छौं।
अब भन,
Gen X, Y, Z, अल्फा, बेटा,
यी अक्षरहरूले बाँचेको पुस्ता
कसको भविष्य पढ्ने?
मतपत्रको स्याहीले कि
इतिहासको रगतले लेखिएको
उही पुरानै कथाले?
यदि मृत आत्माहरू नै
हाम्रो वर्तमानका निर्णायक हुन् भने,
भविष्यको जन्म कहिले हुन्छ?
@DipeshPhuyal55
फुर्सदको पलमा साँझको त्यो शान्ति,
आकाश बिस्तारै राततिर झुक्दै गर्दा
मनमा तिम्रा यादहरू
हल्का हावा जस्तै आउँछन्।
केही तिम्रा कुरा, केही मेरो कुरामा तिमी,
हामीले कहिल्यै नटुटोस् भनेर
सहेजेका ती साना–साना पलहरू।
कहिलेकाहीँ लाग्छ,
जीवनका सबै हल्ला र व्यस्तताबाट टाढा
त्यही शान्त साँझमा फर्किन पाए
कति राम्रो हुन्थ्यो,
जहाँ म बोलिरहन्थेँ, तिमी सुनिरहन्थ्यौ,
अनि तिमी बोल्दा म मुस्कुराएर हेरिरहन्थेँ।
त्यो साँझको नीरवता भित्र
केही तिम्रा कुरा, केही मेरा कुरामा तिमी,
तर हरेक शब्दको गहिराइमा
अझै पनि तिमी नै तिमी छौ।
#म_अनि_मेरो_भावना
जन्म र मृत्यु त समयका दुई किनार मात्र हुन्,
पाउनु र गुमाउनु जीवनका सासजस्तै आवत–जावत।
जित र हार त क्षणिक छायाँहरू हुन्,
तर स्थिर रहने मन नै साँचो बल हो।
न सफलताले अहंकार जगायो,
न असफलताले आत्मा झुकायो।
न उकालोले यात्रा रोकेको छ,
न ओरालोले विश्वास हरायो।
किनकि जब मन शान्त हुन्छ,
त्यतिबेला हरेक परिस्थिति आफ्नै शिक्षक बन्छ।✍️
जिन्दगी महँगो हुँदैन,
जिन्दगी जिउने तरिका महँगो हुन्छ।
साँचो खुशी त साना कुरामा भेटिन्छ,
एक कप चिया, केही साँचो मान्छे,
र मनको शान्ति।
तर जब हामी,
अरूलाई देखाउन जिउन थाल्छौँ,
त्यहीँ बाट जिन्दगी महँगो हुन थाल्छ।
सादगीमा पनि सुख हुन्छ,
यदि मन सन्तुष्ट छ भने। 💫
#म_अनि_मेरो_भावना
कहिलेकाहीँ जीवन यस्तो मोडमा आइपुग्छ जहाँ शब्दहरू पर्याप्त हुँदैनन्। बोल्न धेरै कुरा हुन्छ, तर ओठ सम्म आइपुग्दा ती सबै भावनाहरू मौनतामा हराइदिन्छन्। म पनि त्यही मौन हुँ,दुई शब्दहरूको बीचमा लुकेको, बुझ्न खोजे मात्र महसुस हुने।
मान्छेहरूले प्रायः शब्दहरूलाई मात्र सुन्छन्, तर शब्दहरू बीचको मौनता कसैले सुन्न खोज्दैन। त्यही मौनतामा त असली कथा लुकेको हुन्छ,अकथित पीडा, अपूरा चाहना, अनि मनले बोकेको अनगिन्ती यादहरू। म त्यही कथा हुँ, जुन भनिएको छैन तर गहिरो रूपमा महसुस गर्न सकिन्छ।
कहिलेकाहीँ म आफैलाई बुझाउन खोज्छु, तर शब्दहरू कमजोर लाग्छन्। किनकि म केवल बोलेको परिचय होइन, म त त्यो अनुभूति हुँ जुन शब्दले बयान गर्न सक्दैन। म त्यो चुप्पी हुँ जसले धेरै कुरा देखेको छ, धेरै कुरा सहेर पनि केही नबोली बसेको छ।
दुई शब्दहरूको बीचको मौनता जस्तै, मेरो अस्तित्व पनि सधैं स्पष्ट हुँदैन। कहिले मुस्कानमा लुकेको पीडा हुँ, कहिले आँसुमा देखिएको सत्य। मानिसहरूले सोध्छन्, “तिमी को हौ ?” तर यसको जवाफ सधैं सजिलो हुँदैन।
किनकि म नाम मात्र होइन, म अनुभव हुँ। म कथा मात्र होइन, म भावनाहरूको सागर हुँ। म त्यो चुपचाप बग्ने समय हुँ जसले धेरै कुरा बदलिदिन्छ तर कहिल्यै आवाज उठाउँदैन।
त्यसैले…
दोहोर्याएर नसोध को हुँ म ???
म दुई शब्दहरूको बीचको मौन हुँ,
जहाँ सबै कुरा भनिएको पनि हुन्छ,
अनि केही पनि बोलेको हुँदैन।
#म_अनि_मेरो_भावना
फोन होल्डमा राख्न सक्छौँ,
सम्बन्ध होइन।
सम्बन्ध भनेको
प्रतीक्षा गराइराख्ने कुरा होइन,
यो त समय, विश्वास र भावना
सँगै जोगाइ राख्ने जिम्मेवारी हो।
किनकि,
धेरै बेर होल्डमा राखिएको माया
एकदिन चुपचाप कट पनि हुन सक्छ।
#म_अनि_मेरो_भावना
“यदि म नै त्यो परिपक्व खम्बा हुँ भने,
तिमी नडराऊ…
मेरो काँधमा आड लिँदा
तिम्रो जीवनमा काँडा होइन,
म फूल रोपिदिनेछु।
तिम्रो हरेक डरलाई विश्वासले ढाक्नेछु,
र हाम्रो यात्रालाई
सुगन्धित बनाउने जिम्मा म लिन्छु।”
🤭😉