सायद
चेतना र भ्रम
एकै किनारामा
बसेर
आफ्नै कथा सुनाउँछन्
जहाँ
समय
घडीमा होइन,
मनभित्र चल्छ
खैर—
यो जीवन
साँच्चै आफ्नो हो
कि
कसैको उधारो?
जहाँ
खोज्नु, हराउनु, भेटिनु, छुटिनु
र
अन्त्यमा फेरि प्रश्न बनिनु
चलिरहन्छ ।
भरपर्दो न पानीमूनिको छाँया;
न त्यसको पूर्ण स्वरुप
सम्भवतः
मन र बेचैनी त्यहाँ
पर्याय हुँदा हुन
जँहा रात अतिरिक्त
अस्थिर बन्छ
खैर
मनस्थिति कस्तो छ ‽
दैव को देह
कि
देह को दैव[जस्तै?]
जँहा
रुझ्नु, भिज्नु, ��िसिइनु, खट्नु
र
अन्त्यमा रिझाउनु{का}
चलखेल चलिरहन्छन् ।
भाँचिसके पनि
नझरि-सककेको रुखका
हाँगाझैँ कतै अल्झिनु - {अ}दैनिकी
जहाँ
ऊ विसङ्गत भइसकेको
छ समयदेखि
र पनि जबर्जस्ती
भिज्न खोज्छ
वातावरण सँग
त्यहाँ प्रतिक्रिया
आफैँमा टुहुरो
भइजान्छ
जहाँ
केही बाँकी थियो त
फगत उसकै निरीह पक्ष
जुन सधैं कतै-न-कतै बाट
सल्बलाइरहन्छ
कुबेलाको निद्रा समान !
छाँयाहरूको युद्ध
हामी भित्रको
जागरणसँग
मिल्दैन
सडकका ढुङ्गाहरू
हामीसँग कुरा गर्दैनन्
तर हामी उस्तै
समान—
धूलोमा छोपिएका आवाज
अन्तिम चेतनामा
बजिरहन्छौँ !